१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

चिनियाँ राजदूत यान्छीले खुमलटार पुगेरै प्रचण्डलाई भेटिन्



काठमाण्डौँ ।

पछिल्लो समय सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरूसँगको भेटलाई तीव्रता दिइरहेकी नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले बिहीबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि भेटेकी छन्।

दूतावास स्रोतका अनुसार बिहीबार बिहान प्रचण्डलाई भेट्न उनी खुमलटार निवासमा पुगेकी थिइन्। प्रचण्डको सचिवालयले भने उक्त भेटको पुष्टि गरेको छैन।

भेटका क्रममा दुई पक्षीय हितका विषयमा कुराकानी भएको दूतावासले जनाएको छ। ‘हामी नेपालमा स्थायी सरकार र विकास भएको हेर्न चाहन्छौं, आजको भेटमा पनि राजदूतले त्यही कुरा गर्नुभएको हो,’ दूतावासका प्रवक्ता चाङ सीले भने।

पछिल्लो समय राजदूत यान्छीले नेकपाका वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाललाई भेटेकी थिइन्।

कतिपयले चिनियाँ राजदूतको सक्रियता अस्वभाविक भएको बताएका छन्। दूतावासका प्रवक्ता सीले भने यो सामान्य कुरा भएको बताए।

‘कुनै देशको राजदूतले नेताहरूलाई भेट्नु सामान्य कूटनीतिक चलन हो। हामी कुनै पनि देशको आन्तरिक मामला हस्तक्षेप गर्दैनौं,’ प्रवक्ता सीले भने।

प्रकाशित मिति : २५ असार २०७७ बिहिबार ००:००  ७ : ०५ बजे