१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

बलात्कारपछि हत्या गर्ने ५ जनालाई जन्मकैदको फैसला



नेपालगन्ज ।
बाँकेको डुडुवा गाउँपालिकामा एकजना महिलालाई सामूहिक बलात्कार गरी हत्या गर्ने ५ जनालाई जिल्ला अदालत बाँकेले जन्मकैदको सजाय गरेको छ । १९ असोज ०७३ मा बाँकेको डुडुवा गाउँपालिका (साबिक कम्दी गाविस) मलेहपुरुवामा मेडिकलमा औषधि लिन गएकी २८ वर्षीया शान्ति बुढालाई डुडुवा गाउँपालिका (साबिक कम्दी गाविस(६) मलेहपुरुवाका ३५ वर्षीय पुत्ती भन्ने नसिफ खाँ, वर्ष ३० का सगिर खाँ, छोटु भन्ने रियाज अली अन्सारी, ४२ वर्षका ईदु खाँ र कम्दी ४ लालापुरका ३० वर्षीय झलारीप्रसाद वर्मालाई सामूहिक बलात्कार गरेर हत्या गरेका थिए ।


जिल्ला न्यायाधीश मनकुमारी जिएम विकको इजलासले पाँचैजनालाई जन्मकैदसँगै जनही ५० हजार रुपैयाँका दरले दुई लाख ५० हजार रुपैयाँ पीडित परिवारलाई क्षतिपूर्ति दिने फैसला भएको अदालतका श्रेस्तेदार तीर्थराज भट्टले जानकारी दिए ।
अदालतले ३२ जेठमा फैसला गरेको हो । पाँचैजनाले हात, खुट्टा र टाउको समातेर, मुख थुनेर, पालैपालो बलात्कार गरेको र प्रहरीमा उजुरी गर्ने डरले हत्या गरेको,’ स्वीकार गर्दै बयान दिएका थिए ।

ज्वरो आएको र टाउको दुखेर उपचार गर्न कम्दीको शाहपूर्वास्थित रोहित गुप्ताको मेडिकलमा दिउँसो ४ बजे पुगेकी बुढा दुई बोतल सलाइन चलाएर घर फर्किँदै गर्दा ६ बजेतिर सामूहिक बलात्कारको शिकार भएकी थिइन् ।
मेडिकलमा उपचार गरेर फर्किदै गर्दा एकान्त स्थानमा बुढालाई ५ जनाले दुई घण्टासम्म पालैपालो सामूहिक बलात्कारपछि हत्या गरेका थिए ।
रातिको ८ बजे उनको हत्या भएको थियो । बलात्कार भएको भन्ने जाहेरीकर्ताले अदालतमा बयान भने फेर्ने गरेर मुद्दालाई कमजोर बनाउने गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७७ बुधबार ००:००  ७ : ०६ बजे