१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

कांग्रेस महासमिति सदस्य महेन्द्र मल्ल पार्टीबाट निष्कासित



बाँके ।
नेपाली कांग्रेसले महासमिति सदस्य बाँकेका महेन्द्र मल्ललाई पार्टीबाट निष्कासन गरेको छ ।
बुधबार बसेको कांग्रेस अनुशासन समिति बैठकले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै पाँच वर्षका लागि मल्ललाई पार्टीबाट निष्कासन गरेको हो ।
कांग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले मल्ललाई कारबाही गरिएको जानकारी दिए ।
पार्टीविरूद्ध सार्वजनिक अभिव्यक्ति दिएको आरोपमा अनुशासन समितिमा मल्लमाथि उजुरी परेको थियो । मल्ल कांग्रेस बाँकेको संगठन विभाग प्रमुख थिए। उनले गत वर्ष उक्त जिम्मेवारीबाट राजीनामा दिएका थिए ।
यस्तै, बाँके पार्टी सभापति किरण कोइरालामाथि गत वर्ष भदौमा भएको आक्रमणमा सत्तारूढ दल नेकपाका कार्यकर्ताको संलग्नता नरहेको अभिव्यक्ति मल्लले दिएपछि उनीविरूद्ध अनुशासन समितिमा उजुरी परेको थियो ।
कांग्रेस जागरण अभियानका क्रममा खजुरा गाउँपालिका २ मा सभापति कोइरालामाथि आक्रमण हुँदा उनको हात भाँचिएको थियो ।
उक्त घटनामा नेकपाबाट निर्वाचित वडाध्यक्ष सुमन मल्ल जोडिएका थिए। तर घटनामा वडाध्यक्ष मल्लको संलग्नता नरहेको भन्दै महेन्द्र अभिव्यक्ति दिएका थिए।

प्रकाशित मिति : २४ असार २०७७ बुधबार ००:००  ५ : ५९ बजे