११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

कविताः म त हजुर रुन्चे प्रधानमन्त्री



देवेन्द्र पौडेल, कपिलवस्तु ।
म त हजुर रुन्चे प्रधानमन्त्री
बेलाबेला रोइरहन्छु
कोरोनासँग त डरै छैन
तैपनि साबुनपानीले हात धोइरहन्छु
मेरा सेवकहरु मौका मिल्नासाथ
भ्रष्टाचारको आहालमा डुब्छन्
मैले न्वारानदेखिको बल लगाएर
बालुवाटारमा ल्याई चोख्याउँछु
एक कचौरा अरिंगाल बटुलेर
आज हैन भोलिलाई, हाम्रो साथ ओलीलाई
भन्दै भट्याउन लगाउँछु
म त अब आँसु खसाउनु पर्दैन भन्दै
कविता लेख्छु, गीत लेख्छु
दम्भ अहम्कारको हावा भर्छु
बेमौसमी नाटक गर्छु
म त हजुर रुन्चे प्रधानमन्त्री
बेलाबेला रोइरहन्छु
कहिले छुच्चो मुख चलाएर बस्छु
सत्ता जोगाउन कुतर्क कस्छु
कमिसनखोरीको घेरामा फस्छु
इमान र जमान बेच्छु
आवश्यक परे तेल घस्छु, बेसार घस्छु
गुटगुटमा पस्छु
राष्टवादको बर्को ओढेर
जनस्वाभिमालाई डस्छु
कोरोना आयो
कमिसनको मूल रसायो
सलह आएको छ
बालुवाटारको आकासमा
खुसियाली छाएको छ
अरुलाई मान्छे गन्दिन
आफुलाई अल्पज्ञानी मान्दै मान्दिन
म त हजुर रुन्चे प्रधानमन्त्री
बेलाबेला रोइरहन्छु

सडक नदी बनेका छन्
नदी सडक बनेका छन्
भाका नाघिसके के भो र
मलाई लाज केही छैन
अब नदी बनेका सडकमा पानीजहाज कुँदाउँछु
सडक बनेका नदीमा रेल गुडाउँछु
बाँझा खेतमा टिमुर र बेसार लगाउँछु
मेरो सत्ता खाने कोरोनालाई अन्तै खेदाउँछु
महाकाली बेच्ने पनि मै हो
नक्सा छाप्नु मात्र ठुलो कुरा होइन भन्ने पनि मै हो
अहिले नक्सा छापेर महान राष्टवादी भएकै छु
कहिले गाली गर्छु, कहिले त्यही लैनचौर गएकै छु
म त हजुर रुन्चे प्रधानमन्त्री
बेलाबेला रोइरहन्छु
मैले अरुको भोकै देख्दिनँ
कोरोनामा रोगै देख्दिनँ
बाली मास्ने सलह देख्दिनँ
आफ्नै परिवारको कलह देख्दिनँ
भुइँमान्छेका कथा देख्दिनँ
क्वारिन्टनका व्यथा देख्दिनँ
शितलनिवासका गलैँचा देख्दिनँ
आफ्नो माटो देख्दिनँ
अरुले बनाएको बाटो देख्दिनँ
देख्छु त केवल
सत्ता देख्छु, भत्ता देख्छु
७० करोडको जत्था देख्छु
मैले त अजबले शासन गरेको छु
मैले त गजबले रासन भरेको छु
त्यसैले त म प्रधानमन्त्री थोरै, विदूषक धेरै हुँ
हाछ्युँ मेरो जीवन हो
बेसार मेरो भोजन हो
सत्ता मेरो रोदन हो
म त हजुर रुन्चे प्रधानमन्त्री
बेलाबेला रोइरहन्छु

देवेन्द्र पौडेल, कपिलवस्तु
हाल काठमाडौँ

प्रकाशित मिति : २३ असार २०७७ मंगलबार ००:००  ७ : १७ बजे