बुटवल ।
रुपन्देहीको तिलोत्तमामा भएको सामुहिक हत्याकाण्डका अभियुक्त पुर्पक्षका लागि जेल चलाउन भएका छन्। जेठ २६ गते तिलोत्तमा १० कान्छिबजार मैनहवास्थित कृष्णबहादुर पुनले संचालन गर्दै आएको गंगादेवी कृषि फार्ममा ५ जनाको सामुहिक हत्या भएको थियो।
भैंसी फार्ममा काम गर्ने रुपन्देही सैनामैना नगरपालिका वडा नं। ५ का ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३५ वर्षीया जानकी मुसहर, कामदार पोषराज मुसहर तथा स्थानीय करण चौधरी र आशिष चौधरीको सामुहिक हत्या भएको थियो।
प्रहरीले हत्याकाण्डमा संलग्न भएको आशंकामा सोही फार्ममा काम गर्ने सुर्खेतका झसेन्द्रबहादुर सिंजालीलाई घटनास्थलबाटै पक्राउ गरेको थियो।
पक्राउपछि सिंजालीले आफूले नै पाँचै जनाको हत्या गरेको स्वीकार गरेका थिए। उनीविरुद्ध जिल्ला अदालत रुपन्देहीमा परेको कर्तव्य ज्यान मुद्दामाथिको बहसपछि अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
जिल्ला अदालतका सूचना अधिकृत गंगा अधिकारीले आइतबार भएको बहसपछि जिल्ला न्यायाधीश मात्रिकाप्रसाद मरासिनीको एकल इजलासले अभियुक्त सिंजालीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जानकारी दिए।
आदेशपछि अभियुक्तलाई जिल्ला कारागार भैरहवा पठाइएको र त्यहीबाट थप अनुसन्धान अघि बढाउन भनिएको अधिकारीले बताउनु भयो ।
प्रहरीसँगको बयानमा सिंजालीले आफ्नो चरित्र हत्या गर्ने र काममा ठगी गरेको आरोप लगाउँदै फार्मका साहुसँग कुरा लगाउने गरेकोले त्यसैको रिसमा हत्या गरेको स्वीकार गरेका थिए।
प्रतिक्रिया