११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

मन्त्रीहरुलाई बोलाएर प्रधानमन्त्रीले भनेः आ-आफ्नो लाइन क्लियर गर्नुस्



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री तथा राज्य मन्त्रीहरुसँग छलफल गर्नुभएको छ । शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएका प्रधानमन्त्री ओलीले साँझ सङ्घीय सरकारका मन्त्री र राज्यमन्त्रीसँग भेट गर्नुभएको हो ।

पार्टीभित्रको विवाद चुलिँदै गएपछि प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीहरुसँग छलफल गर्नुभएको हो ।

मन्त्रिपरिषद्का सदस्यहरुसँग बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीभित्रको पछिल्लो विवादबारे जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले एकता गम्भीर मोडमा पुगेको कुरा राखेको र आफू जहिले पनि पार्टी एकताको पक्षमा रहेको कुरा दोहोराउँदै अहिले आफूलाई घेराबन्दीमा पारेको बताउनुभएको छलफलमा सहभागी एक मन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीले अब जे पनि हुनसक्ने सङ्केत गर्दै सबैलाई जो जताको पक्षमा हुनुहुन्छ त्यता नै रहन सुझाव दिएको पनि उहाँले बताउनुभयो ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउने र आफूलाई पदबाट हटाउने तयारी भइरहेको समेत बताउनुभयो ।

उहाँले आफ्नो प्रधानमन्त्रीको पक्षमा जाने कि रु विपक्षमा बस्ने भन्नेबारे लाइन क्लियर गर्न पनि मन्त्रीहरुलाई आग्रह गर्नुभएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीसँग एक घण्टाभन्दा धेरै समय छलफल गर्नुभएको थियो ।

प्रकाशित मिति : २० असार २०७७ शनिबार ००:००  ९ : ४३ बजे