काठमाडौं ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । पार्टीभित्र देखिएका विवाद समाधानका लागि प्रयास गर्न बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
स्रोतकाअनुसार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा कुराकानी भएर बैठक स्थगित गरिएको हो । स्थायी समितिको अर्को बैठक असार २२ गतेका लागि बोलाइएको नेकपाले जनाएको छ ।
आज बिहान ९ बजे दुई अध्यक्षबीच छलफल तय भएको थियो । शुक्रबार पनि अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा तीन घण्टा छलफल भए पनि ठोस सहमति भएको थिएन ।
दुई दिनअघि पार्टीभित्र देखिएका समस्या समाधानका लागि अध्यक्षद्वय तथा अन्य नेताहरूबीच छलफल गरी समस्या समाधान गर्न भन्दै बैठक स्थगित गरिएको थियो ।
नेकपाको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरूले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट ओलीलाई राजीनामा दिन आग्रह गरेपछि विवाद हुँदै आएको छ ।
प्रतिक्रिया