११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

कोरोना परीक्षणको शुल्क बुझाउन प्रतिष्ठानले काट्यो पालिकालाई पत्र



दाङ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले हाल सम्म स्वाब परीक्षण गरेको रकम दाखिला गर्न स्थानीय पालिकालाई पत्र काटेको छ । लमही नगरपालिकालाई काटेको पत्रमा प्रतिष्ठानको आम्दानी घटेको भन्दै अहिले ४ सय ७१ जनाको स्वाब परीक्षण गरे बाफत हुन आउने २५ लाख ९० हजार ५ सय रुपैयाँ सोधभर्ना गर्न भनेर उल्लेख गरेको छ । प्रति स्वाव पाँच हजार पाँच सयको दरले रकम बुझाउन पत्र काटेको पाइएको छ ।
बिहीबार स्वाब संकलन गरेर परीक्षणको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । तर, प्रतिष्ठानले स्वाब परीक्षणको शुल्क लाग्ने र शुल्क बाफत हुन आउने रकम दाखिला नगर्दा सम्म स्वाब नबुझ्ने भनेर स्वाब फर्काइदिएको थियो । स्थानीय पालिकाले बिहीबार स्वाब परीक्षणको लागी भैरहवा र काठमाडौं पुर्याइएका छन् ।
‘प्रतिष्ठानले आफ्नै खर्चमा पिसिआर मेसिन, किट लगायतका सामग्री किनेर कोरोना परीक्षण गरिरहेको छ’, कायम मुकायम रजिष्ट्रार कैलासप्रसाद देवले हस्ताक्षर गरेको पत्रमा भनिएको छ– ‘हाल कोरोना परीक्षणको लागी आउने चाप बढेको छ, भने नियमित बिरामीहरु घटेका छन् । यसले गर्दा प्रतिष्ठानको आम्दानी ज्यादै न्यून भएको छ र खर्च बढ्दै गएको छ ।’
प्रतिष्ठानको यस्तो व्यवहार प्रति पालिका प्रमुखहरुले विरोध गर्न थालेका छन् । तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले संघ र प्रदेशबाट पैसा ल्याएर काम गरिरहेको प्रतिष्ठानले स्थानीय तहसँग संकटको बेलामा पैसा माग्नु गलत भएको बताए ।
‘संघ र प्रदेश पैसा दिइरहेको छ, अपुग भए त्यहाँ माग्न सकिन्छ यसरी प्रतिव्यक्ति गनेर पैसा मागेपछि हामीले कसरी थेग्न सक्छौं’ पाण्डेले भने–‘संकटको घडीमा पैसाको कारण देखाएर पन्छिने अमानवीय कुरा हो ।’

प्रकाशित मिति : १९ असार २०७७ शुक्रबार ००:००  ५ : ३८ बजे