११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

उत्तर कोरिया कोरोना रोक्न सफल भएको किमको दाबी



प्योङयाङ ।
उत्तर कोरियाली नेता किम जोङले उत्तर कोरिया कोरोना भाइरस संक्रमणको संकट रोक्न सफल भएको दाबी गरेका छन् । उनले आफ्नो मुलुकले ुचमकदार सफलताु हात पारेको बताएका छन् ।

पोलिट ब्युरोको बैठकका क्रममा नेता उनले उत्तर कोरियाले कोरोना भाइरसको संक्रमण फैलिन रोकेको र स्थितिलाई स्थिर बनाएको दाबी गरेका हुन् ।

चीनमा कोरोना भाइरसको संक्रमण देखिए लगत्तै उत्तर कोरियाले आफ्ना सबै सीमा नाकाहरु बन्द गरेको थियो भने बाहिरबाट आएका हजारौं मानिसहरुलाई आइसोलेसनमा राखेको थियो ।
उनले अझै सुरक्षाका उपायहरु अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, छिमेकी मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या अझै बाँकी छ र बढ्ने क्रममा छ । त्यसकारण कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न आवश्यक सुरक्षाका उपायहरु अवलम्बन गर्नुपरेका छ्न् ।
उत्तर कोरियामा मास्क लगाउन अनिवार्य गरिएको छ । उत्तर कोरियामा जनवरीदेखि बन्द गरिएका विद्यालयहरु खुला गरिएका छन् भने सार्वजनिक स्थानहरुमा जम्मा हुन भने रोक लगाइएको छ ।
उत्तर कोरियामा हालसम्म ९२२ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको दाबी गरिएको छ । तर, एनके न्यूजका प्रबन्ध सम्पादक ओलिभर हाथले उत्तर कोरियाको दाबी सही नभएको बताएका छन् । ( बीबीसी )

प्रकाशित मिति : १९ असार २०७७ शुक्रबार ००:००  १ : ३९ बजे