काठमाण्डौ ।
नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १४ हजार पाँच सय नाघेको छ । पछिल्लो २४ घण्टामा चार सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १४ हजार पाँच सय १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार बिहीबार एक सय नौ जना महिला र तीन सय ६४ पुरुष गरी कुल चार सय ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा सङ्क्रमितको सङ्ख्या १४ हजार पाँच सय १९ पुग्दा एक हजार आठ सय ८३ जना महिला र १२ हजार ६ सय ३६ जना पुरुष रहेका छन् ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा चार हजार पाँच सय ३७ जनाको पीसीआर परीक्षण भएको छ । यससँगै अहिलेसम्म दुई लाख ३७ हजार सात सय ६४ जनाको पीसीआर परीक्षण भएको छ ।
देशभर रहेका विभिन्न क्वरेण्टीनमा ३८ हजार एक सय नौ जना रहेका छन् । यस्तै आइसोलेशनमा १० हजार एक सय ३७ जना सङ्क्रमितको उपचार भइरहेको छ ।
गएको असार ९ गते अस्पताल भर्ना भएका शिशुलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको र उनको हिजो मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।
१८ असार २०७७ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया