७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

अर्घाखाँचीका किसानलाई सलह धपाउन सास्ती, स्थानीय सरकारले चासो नदिएको गुनासो



बिष्णु कुमार आले, अर्घाखाँची ।
बाँदर र बदेलले खेती खाएर हैरानी खेप्दै आएका अर्घाखाँचीका किसान दुई दिन देखि बिभिन्न उपाय अपनाएर सलह किरा धपाउन जुटेका छन् । सोमबार दिउँसो देखि अर्घाखाँचीका ६ ओटै स्थानीय तहमा ठुलो संख्यामा सलह किरा आएर तरकारी, मकैबालीमा बसेर खान थालेपछि दुईदिन देखि किसान सलह धपाउन प्रयास गर्दा पनि नगएको किसानले बताएका छन् ।

किसानको गुनासो

जिल्लाको भूमिकास्थान, शितगंगा, सन्धिखर्क नगरपापलका, छत्रदेव, मालारानी र पाणिनी गाउँपालिकाको बिभिन्न टोल वस्तीहरूको किसानको खेतबारीमा सलहले तरकारी मकै खेती नष्ट गरेको छ ।

धानको ब्याड र खेतमा रोपिसकेको धान पनि सलहले खाईदिएको छ । तर किसानले गुनासो गरेपनि जिल्ला कृषि ज्ञान केन्द्र अर्घाखाँचीले कुनै चासो नदिदा किसान आक्रोशित भएका छन् ।

जिल्लाको भूमिकास्थानको ढिकुरा, शीतगंगाको सिमलपानी, जलुके, ठाडा, लगायत ६ ओटै स्थानीय तहमा सलह प्रवेश गरेर हजारौं रोपनी जग्गामा लगाएको मकैखेती नष्ट गरेको छ । दुईदिन देखि किसानले सलह धपाउन धुवा लगाउने, थाल पिट्ने, खेतबारीमा सयौ मानिस परिचालन हुने, कराउने गरेपनि नगएपछि जिल्ला कृषि ज्ञान केन्द्रलाई हार गुहार गरेका छन् । तर हारगुहार गरेपनि जिल्ला कृषि ज्ञान केन्द्रले किसानको गुनासोलाई चासो नदिएको किसानको भनाई छ । खेतमा रोप्न तयार भएको धानको बिउ खाईदिएपछि निरास बनेका किसानले त्रिपालले ढाकेर धानको ब्याड जोगाउने प्रयास गरिरहेका छन् । बर्षेनी बदेल र बाँदरको चपेटामा परेका यहाँका किसान अहिले करोडौंको संख्यामा सलह आएर खेति नष्ट गरेपछि उनीहरू चिन्तित भएका छन् ।

के भन्छ जिल्ला कृषि ज्ञान केन्द्र ?

सोमबार देखि जिल्लाको बिभिन्न स्थानमा सलहले खेति नष्ट गर्न थालेपछि ६ ओटै स्थानीय तहका प्रमुखहरूसँग छलफल भएको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख देवेस मिश्रले बताए । जिल्लामा करोडौंको संख्यामा सलह आएको छ । तर किट नाशक बिषादीको अभाव भएको बताए । औषधी झिकाए पनि अझै नआएको तर किसानको गुनासो आईरहेको छ तर किसानको खेतबारीमा पुगेर बिसादी छिट्टन नसकिएको उनले बताए ।

विषादी छिट्टने मेसिनको पनि अभाव छ उनले भने, ‘विषादीको प्रयोग सलह नियन्त्रणको प्रभावकारी उपाय भएको र मालाथियन, ल्याम्डा साइहेलोथ्रीन, क्लोरपाइरिफोस, डेल्टामेथीन लगायतका रसायन छर्केर यसको नियन्त्रण गर्न सकिन्छ । तर, एकैपटक ठूलो क्षेत्रमा छर्नुपर्ने भएकाले युएलभी (अल्ट्रा लो भोल्युम) को प्रयोग सबैभन्दा प्रभावकारी हुने देखिएको छ ।’

शीतगंगाको ठाडादह, अमराई, कोप्चिबास, भेडामारे, सिमलपानी, जुकेना, सितापुर, झिर्रा, मन्द्रे सुवर्णखाल, सिद्धारा लगायतका क्षेत्रमा सलह देखिएपछि स्थानीयले धुवा तथा थाल पिटेर सलह धपाउने प्रयास गरिरहेका छन् । शीतगंगाको सिमलपानीमा ठुलो संख्यामा सलह प्रबेश गरेपछि १७ रोपनीमा लगाएको तरकारी र मकै खेतिमा क्षति पुराएको किसान कबिराम भाटले बताए ।

उनले भने, ‘जुन बिरूवा कलिलो छ, त्यहि बिरूवा खान सलहले जोड गर्दोरहेछ ।’ सोमबार देखि हजारौंको संख्यामा सलह आएर बस्यो, बिभिन्न उपाय गरेर धपाउने प्रयास गर्दा पनि नगएको उनले गुनासो गरे । उनको आसपासका किसानको पनि ठुलो परिमाणमा सलहले खेती नष्ट गरेको किसानले बताएका छन् ।

तर, आफ्नो गुनासो नगरपालिमा सुनाउने प्रयास गर्दा चासो नदिएको र फोन नै नउठाउने गरेको उनले बताए । धनचौर, डेवा र ढिकुरामा पनि सलहले बढि क्षति गरेको छ ।

उता पाणिनी गाउँपालिकामा पनि सलहले मकै खेती नष्ट गरेपछि गाउँपालिकामा खबर गरेपनि बेखबर बनेको किसानले बताएका छन् । पटक पटक फोन गर्दा पनि गाउँपालिकाका जनप्रतिनिधिले फोन नै नउठाएको किसान रेमलाल भुषालले बताए । बारिको मकैमा लपक्कै सलह आएर बस्यो, धपाउने प्रयास गर्दापनि नगएपछि गाउँपालिकाका जनप्रतिनिधिलाई फोन गर्दा नउठाएको किसान भुषालको गुनासो छ । मालारानीका किसानको पनि समस्या उस्तै छ । खेतमा रोप्न तयार भएको धानको व्याडमा सलह बसेर बिउ खाईदिएको स्थानीय किसान भबिश्वर गैरेले बताए । गाउँपालिकामा फोन गरेर जानकारी गराएको छु, तर अहिले सम्म केहि नभएको उनले बताए । किसानले गुनासो गरेपनि स्थानीय तह वेखबर जस्तै भएका छन् । किसानको गुनासो प्रति चासो दिएका छैनन् ।

सलह नियन्त्रणका उपाय

नेपालमा सलहको प्रवेश पहिलो पटक भएको होइन। ५० वर्ष पहिले सलह आएको बुढापाका जानकारहरू बताउँछन् । करेसाबारी, नर्सरी लगायतका सानो क्षेत्रमा झुल,जालीको प्रयोग, ठूलो आवाज, धुँवा आदिको प्रयोगबाट सलहको झुण्डलाई बस्नबाट रोक्न सकिन्छ । सलहलाई पासोमा पारेर संकलन गर्नु पनि नियन्त्रणको अर्को उपाय मानिन्छ । सलह बाँसा बसेको बेलामा खरानी तथा गँहुमकैको पिठोले हानेपछि सलह पिठोमा लट्पट्टीएर उड्न नसकेपछि नियन्त्रण गर्न सजिलोहुने जिल्ला कृषि ज्ञानकेन्द्र अर्घाखाँचीले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७७ मंगलबार ००:००  ७ : ४६ बजे