मायादेवी अनलाइन, चार नम्बर ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच कपिलवस्तुका स्थानीय तहहरु आव ०७७/०७८ को नीति, कार्यक्रमसहितको बजेट तयारीमा जुटेका छन् । असार १५ गतेभित्र नगर तथा गाउँसभा बस्नुपर्ने संबैधानिक प्रावधान भएपनि जिल्लाका अधिकांश स्थानीय तह त्यस अगावै बजेट ल्याउने तयारीमा जुटेका हुन् ।
जिल्लाको वाणगंगा नगरपालिकाले बुधबार (आज) बजेट ल्याउँदै छ । असार ५ गते नीति तथा कार्यक्रम पारित गरिसकेको वाणगंगाले बुधबार बजेट ल्याउने तयारीमा जुटेको हो । नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले बुधबार सातौं नगरसभाको दोस्रो बैठकमा नीति, कार्यक्रमसहितको बजेट प्रस्तुत हुने मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । गत बर्षकै हारहारीमा एक अर्ब १० करोड बराबरको बजेट ल्याउने तयारीमा वाणगंगा रहेको जनाइएको छ ।
पशुपालन, कृषि र स्वास्थ्यमा केन्द्रित रहेर नीति तथा कार्यक्रम बनाएको वाणगंगाले त्यसै अनुसार बजेट ल्याउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले जानकारी दिनुभयो । दिउँसो १ बजेबाट नगरसभा शुरु हुने पन्थीले जानकारी दिनुभयो ।
यता जिल्लाको बुद्धभूमि नगरपालिकाको सातौं नगरसभा बुधबार बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको नगर सभामा आव ०७७÷०७८ सालको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सभाको कार्यसूची रहेको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो । नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम बुधबार नै पारित गराई बजेटको तयारीमा लाग्ने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । असारको तेस्रो हप्तासम्ममा नीति, कार्यक्रमसहितको बजेट ल्याउने तयारी भैरहेको उहाँले बताउनुभयो ।
नगरपालिकाले नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको छ । कृषिमा नगरपालिकालाई आत्मनिर्भर बनाउने गरी कार्यक्रम ल्याइएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । पशुपालन तर्फ लागेका किसानलाई अनुदान रकम यान्त्रिकरणमा सहयोग गर्ने गरी नीति तथा कार्यक्रम आउने उहाँले बताउनुभयो । नगर भित्र आर्गनिक उत्पादन बृद्धिका लागि कोशेली घर स्थापनालाई पनि जोड दिइएको उहाँले बताउनुभयो ।
यस्तै शिवराज नगरपालिकाको सातौं नगरसभा पनि बुधबार नै बस्दै छ । विहान १० बजे बस्ने नगरसभामा आव ०७७/०७८को नीति तथा कार्यक्रम प्रस्तुत हुने प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले मायादेवीलाई जानकारी दिनुभयो । यो बर्ष स्वास्थ्य, कृषि र शिक्षालाई जोड दिएर नीति तथा कार्यक्रम बनाइएको उहाँले जनाउनुभयो । कोरोना भाइरसका संक्रमितलाई उपचारका लागि ५० शैयाको कोरोना अस्पताल निर्माण गरिएको र त्यसमा एक जना डाक्टरको अस्थायी दरबन्दी खुलाउने गरी काम भैरहेको बताउनुभयो ।
नगरबासीको स्वास्थ्यलाई ध्यान दिदै विभिन्न कार्यक्रम यस बर्ष ल्याइने उहाँले स्पष्ट पार्नुभयो । बुधबार नीति तथा कार्यक्रम पेश हुँदै भएपनि बजेट बुधबार नै आउँछ कि पछि भन्ने अझै एकिन भैनसकेको उहाँले बताउनुभयो । बजेट पनि लगभग बनिसकेको भन्दै उहाँले बुधबारको नगर सभाले के गर्छ अझै भन्नेस्थिती नभएको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया