काठमाडौं ।
नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप पाँच सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या १० हजार ९९ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार मङ्गलबार ९० महिलासहित पाँच सय ३८ जना नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् । मङ्गलबार थप ७६ जना गरी अहिलेसम्म दुई हजार दुई सय २४ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
अहिले सात हजार आठ सय ५१ जना सङ्क्रमित उपचारको लागि विभिन्न अस्पतालका आइसोलेशनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार नौ सय ९५ गरी अहिलेसम्म एक लाख ८६ हजार तीन सय ६६ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै पछिल्लो २४ घण्टामा आरडीटी विधिबाट तीन हजार चार सय ८१ गरी अहिलेसम्म दुई लाख ७१ हजार पाँच सय ८४ जनाको आरडीटी परीक्षण गरिएको छ । अहिले ८५ हजार आठ सय १३ जना क्वरेण्टीनमा रहेका छन् ।
नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । दैलेखका एक ४५ वर्षीय पुरुषको मृत्यु भएसँगै मृतकको सङ्ख्या २४ पुगेको हो । मन्त्रालयका अनुसार दैलेखको दुल्लु गाउँपालिका ३ का ४५ वर्षीय पुरुषको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।
मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले ती पुरुष क्षयरोग र दमको बिरामीसमेत रहेको बताउनुभयो । सोमबार ती पुरुषको मृत्यु भएको हो । ती पुरुषको ३ गते स्वाब सङ्कलन गरिएकोमा असार ४ गते कोरोना पुष्टि भएको थियो ।
प्रतिक्रिया