११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

गुल्मीको होम क्वारेन्टाइनमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि



गुल्मी ।
गुल्मीमा होम क्वारेन्टाइनमा बिहीबार राति मृत्यु भएका ६९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । जेठ २५ गते भारतबाट आई होम क्वारेन्टाइनमा बसेका छत्रकोट गाउँपालिका वडा नं ५ का ६९ वर्षीय पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यलय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कोरोना रिपोर्ट पाजेटिभ आएको हो । उनी पहिलेदेखि नै प्यारालाइसिसको बिरामी रहेका र जेठ २५ गते भारतबाट उपचार गराइ आएकाले उनलाई अलग्गै होम क्वारेन्टाइनमा राखिएको थियो ।

परिवारको सहमतिअनुसार शवलाई नेपाली सेना र नेपाल प्रहरीले शुक्रबार बिहान नै व्‍यवस्थापन गरेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । गुल्मीमा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

यसभन्दा पहिले मदाने गाउँपालिका वडा नं ६ पुर्कोटदहका ४१ वर्षीय शिक्षकको रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको थियो भने अर्का धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको तम्घासको आइसोलेशनमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : ६ असार २०७७ शनिबार ००:००  ३ : १५ बजे