मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाको आव ०७७/०७८ सालको नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको सातौं नगर सभाको पहिलो बैठकले सर्वसम्मत ढंगबाट नीति तथा कार्यक्रम पारित गरेको हो ।
नीति तथा कार्यक्रममा स्वास्थ्य, कृषि, पशुपालन र रोजगारीलाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ । यद्यपि नगरपालिकाले नीति तथा कार्यक्रममा के कस्ता विषय समावेश गरेको छ पत्रकारलाई विस्तृत जानकारी दिइएको छैन् ।
नीति तथा कार्यक्रममाथि नगर सभा सदस्यले आ-आफ्ना विचार व्यक्त गरेका थिए । पटक पटक पुरानै पाराको नीति कार्यक्रम आएको भन्दै नगर सभा सदस्यले चर्को आलोचना गरेका थिए । नीति तथा कार्यक्रममा समावेश गरिए पनि कार्यान्वयनको पक्ष फितलो हुने गरेको भन्दै यसमा सचेत बन्न नगरसभा सदस्यहरुले सुझाव दिएका थिए ।
बैरियामा अवस्थित मायादेवी रिसोर्टको सभाहलमा भएको सातौं नगर सभामा नगर उप-प्रमुख चक्रपाणी अर्यालले नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत नीति तथा कार्यक्रम झण्डै सवा तीन घण्टा छलफल पश्चात पारित भएको जनाइएको छ ।
सभामा नगर सभा सदस्यले उठाएका प्रश्नको जवाफ दिदै नगर उप-प्रमुख अर्यालले सबैको भावनालाई समेट्ने आश्वासन दिनुभएको थियो । सभाको अध्यक्षता नगर प्रमुख मंगल प्रसाद थारुले गर्नुभएको थियो । आगामी १० गते नगरपालिकाले आज पारित गरेको नीति तथा कार्यक्रम अनुसारको बजेट ल्याउने तयारी गरेको छ ।
छठौं नगरसभाबाट पत्रकारलाई प्रवेश निषेध !
राज्यको चौथो अंग पत्रकारलाई वाणगंगा नगरपालिकाले नगरसभामा प्रवेश निषेध गर्न थालेको छ । वाणगंगाले पाँचौं नगर सभासम्म पत्रकारलाई समाचार संकलन गर्न दिदै आएपनि छैठौं नगरसभाबाट पत्रकारलाई प्रवेश निषेध गर्न थालेको हो । गत हिउँदमा सम्पन्न छैठौं नगर सभामा वाणगंगाले नगर सभा सकिएपछि पत्रकारलाई जानकारी दिएको थियो भने सातौं नगरसभामा पनि त्यहि गरेको छ ।
सभामा नगर सभा सदस्यहरुले विभिन्न टिप्पणी राख्न सक्ने र त्यो पत्रकारले लेख्ने डरले नगरपालिकाले पत्रकारलाई प्रवेश निषेध गर्न थालेको हो । केन्द्र सरकार, प्रदेश सरकार र वाणगंगा बाहेक अरु स्थानीय सरकारले पत्रकारलाई नगर सभामा प्रवेश दिदै आएपनि वाणगंगाले छैठौं नगर सभाबाट रोक्न थालेको हो ।
पत्रकारले स्थानीय सरकारको नीति, कार्यक्रम र बजेटलाई प्राथमिकताका साथ प्रकाशन, प्रशारण गर्दै आएका थिए । तर, वाणगंगाले प्रवेश निषेध गर्न थालेपछि विस्तृत समाचार आम नागरिक सामु पुर्याउन कठिनाई भएको छ ।
पाचौं नगरसभासम्म पत्रकारलाई प्रवेश दिएको वाणगंगाले छैठौं नगरसभा पछि किन दिएन पत्रकारले प्रश्न उठाउन थालेका छन् ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका सभापति डिलाराम भुसालले आफुलाई नगर सभाबाट पारित भएका कुरा नगरको सूचना अधिकारीबाट मिडियामा दिने कुरा आएको बताउनुभयो ।
यो पनि …बाणगंगाको नीति कार्यक्रमः सरोकारवाला भन्छन्, गौरवका आयोजना चिनेको खै ?
प्रतिक्रिया