काठमाडौं ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित पुरुषको बुधबार मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरे ।
‘उहाँको ८ बजेर ५२ मिनेटमा मृत्यु भएको हो । हामीले सेनालाई खबर गरिसकेका छौं। भोलि उहाँको शव व्यवस्थापन गर्ने तयारी छ,’ श्रेष्ठले भने ।
गोदावारी नगरपालिका-४ निवासी ४६ वर्षीय उनमा गत जेठ ३२ गते संक्रमण पुष्टि भएको थियो । सुरूमा धनगढीको एक निजी अस्पतालमा भर्ना भएका उनलाई संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पताल रिफर गरिएको थियो ।
सुरूआतमै उच्च ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । स्वास्थ्यमा कुनै सुधार नआएको र थप जटिल बन्दै गएपछि बुधबार अस्पतालले बिरामीलाई काठमाडौं रिफर गर्न प्रदेश सरकारलाई अनुरोध गरेको थियो ।
उनी पेसाले बस चालक हुन् । अस्पतालका अनुसार उनले नाकाबाट मानिसलाई क्वारेन्टिन स्थलसम्म बसमा पुर्याउने काम गरेका थिए ।
बुधबारै कैलालीको लम्कीचुहा नगरपालिका-२ निवासी एक महिलामा पनि मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचार क्रममा बिहान ११ बजे मृत्यु भएको उनको साँझ रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए ।
न्यूरोसम्बन्धी समस्या रहेको उनलाई जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
बुधबारै अर्घाखाँचीका एक पुरूष र सुर्खेतकी एक महिलामा पनि आत्महत्यापछि कोरोना पुष्टि भएको छ । उनीहरूलाई कोरोनाबाट मृत्यु भएको संख्यामा समावेश गर्ने वा नगर्नेबारे स्वास्थ्य मन्त्रालयले निर्णय गर्नेछ ।
प्रतिक्रिया