१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

उपचारको क्रममा मृत्यु भएकी बाँकेकी एक महिलामा कोरोना पुष्टि



नेपालगन्ज ।
बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बैजनाथ गाउँपालिका ६ की ४६ वर्षिय महिलाको उपचारका क्रममा सोमबार साँझ साढे ६ बजे अस्पतालमा मृत्यु भएको थियो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले मृत्यु भएकी महिलामा कोरोना देखिएको पुष्टि गरे ।

‘कोहलपुर मेडिकल कलेजमा मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ देखिएको छ’ उनले भने, ‘मंगलबार राति आठ बजेमात्र रिपोर्ट आएको थियो । शवको व्यवस्थापन बुधबार मात्र हुनेछ ।’

उनको सोमबार दिउँसो कोरोना परीक्षणको लागि स्वाब संकलन गरेर भेरी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । अस्पतालमा मृतक महिला गत जेठ ३० गते भर्ना भएकी थिइन् ।

दायाँ फोक्सामा समस्या देखिएपछि महिला अस्पताल भर्ना भएको अस्पताल स्रोतले जानकारी दिएको छ । अस्पतालले मंगलबार राती सवा १० बजेसम्म कुनै आधिकारीक धारणा भने सार्वजनिक गरेको छैन ।

कोरोना संक्रमित महिलाको शवंलाई अहिले अस्पतालको शव गृहमा राखिएको छ ।

यसअघि बाँकेको नरैनापुरमा समेत २५ वर्षिय मृतक युवामा समेत कोरोना पुष्टि भएको थियो । यो सँगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई जना पुगिसकेको छ ।

प्रकाशित मिति : २ असार २०७७ मंगलबार ००:००  ११ : २६ बजे