पोखरा ।
गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्षको लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
प्रदेश सभा बैठकमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।
वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो । प्रदेशको कुल बजेटको ४१ दशमवल २ प्रतिशत चालुगत, ५७ दशमलव ४ प्रतिशत पुँजीगत र १ दशमलव ४ प्रतिशत वित्तीय व्यवस्था खर्च रहेको छ । गण्डकी प्रदेश सरकारले पनि बजेटमा स्वास्थ्य, कृषि र रोजगारलाई मुख्य प्राथमिकता दिएको छ ।
कोरोना महामारीको व्यवस्थापन, स्वास्थ्य क्षेत्रको सुदृढीकरण र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दा चालु आर्थिक वर्षको अनुपातमा भौतिक पूर्वाधार विकासको क्षेत्रमा भने बजेट विनियोजन कम हुन गएको मन्त्री गुरुङले बताउनुभयो ।
प्रदेशको सार्वजनिक स्रोतमा आउने सङ्कुचन र कोरोना महामारी रोगको रोकथाम नियन्त्रण र प्रभाव न्यूनीकरण कार्यमा अतिरिक्त स्रोत परिचालन गर्नुपर्ने अवस्थालाई मध्यनजर गरी आउँदो वर्ष प्रशासनिक खर्चमा मितव्ययिता अपनाउने नीति लिएको उहाँले बताउनुभयो ।
यसको लागि अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा खर्च, जोखिम भत्तालगायतका सबै प्रकारका भत्ता साउन १ गतेदेखि खारेज गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया