११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

प्रदेश ५ सरकारको ल्यायो ३६ अर्ब ३५ करोड बढीको बजेट



रूपन्देही ।
प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।

आर्थिक ममिला तथा योजना मन्त्रालयसमेत सम्हाल्दै आएका मुख्यमन्त्री शंकर पोखरेलले आगामी वर्षको बजेट सोमबार सार्वजनिक गर्दै चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख र पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ रहेको बताए । त्यस्तै वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड बजेट छ ।

सरकारले ल्याएको बजेट कोरोना केन्द्रीत छ । सरकारले सबैभन्दा धेरै बजेट भौतिक पूर्वाधार विकासतर्फ सार्वजनिक गरेको छ । त्यसमा १५ अर्ब २ करोड रुपैयाँ बजेट छ । १६ सडक निर्माणलाई निरन्तर, सडक पुल निर्माणतर्फ १ अर्ब ४३ करोड, एक घर एक धारा निर्माणका लागि २ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, स्वास्थ्य क्षेत्रमा सबै जिल्ला अस्पताललाई स्तरोन्नती गर्ने गरी बजेट विनियोजन भएको छ । सामाजिक विकासका लागि ५ अर्ब ६७ करोड छ । कोभिड–१९ नियन्त्रण तथा भैपरी आउने खर्चका लागि १ अर्ब बजेट विनियोजन भएको छ ।

कोभिड–१९ का कारण बेरोजगार बनेका युवालाई रोजगार दिने एवं हुन सक्ने खाद्य संकट व्यवस्थापनका लागि उत्पादनमुखि कार्यक्रम विस्तार गर्न भुमि व्यवस्था कृषि तथा सहकारीतर्फ ४ अर्ब ८६ करोड ३५ लाख बजेट छ ।

मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सबै स्थानीय तहमा विस्तार गर्दै विशेष अनुदानतर्फ १ अर्ब रुपैयाँ रकम छ । उद्योग, पर्यटन वन तथा वातावरण क्षेत्रका लागि २ अर्ब ३ करोड बजेट विनियोजन भएको छ ।

प्रदेश सरकारले आगामी वर्ष विदेश भ्रमणका लागि खर्च विनियोजन गरेको छैन् । कार्यालय सामग्री खरिदका लागि खर्च कटौती गरिएको छ । मन्त्रालयका कर्मचारीका लागि बैठक भत्ता कटौती गरिएको छ । स्वास्थ्य र सुरक्षा निकायले बाहेक अन्यले सवारी साधन खरिद गर्न पाउने छैनन् । सरकारले ल्याएका अधिकांश कार्यक्रम र बजेट कोभिड–१९ को असर न्यूनीकरण र रोजगार केन्द्रीत रहेका छन् ।

प्रकाशित मिति : १ असार २०७७ सोमबार ००:००  ७ : ११ बजे