पाल्पा ।
पाल्पामा एकैदिन थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै यहाँ संक्रमितको संख्या ४० पुगेको छ ।
जिल्लाको रम्भा गाउँपालिका १ हुँगीस्थित जनकल्याण माध्यमिक विद्यालयको क्वारेण्टाइनमा बसेका १६ जना र बगनासकाली गाउँपालिका ५ स्थायी ठेगाना भई जिल्ला अस्पताल पाल्पाको आइसोलेसनमा उपचार गराइरहेका एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्व न्यौपानेले बताए ।
उनका अनुसार संक्रमितमध्ये एक १३ वर्षकी बालिका र १६ पुरूष छन् । उनीहरू १३ देखि ५० वर्ष उमेर समूहका छन् । प्रदेश ५ को जनस्वास्थ्य प्रयोगशाला भैरहवाले आइतबार बेलुकी यसको पुष्टि गरेको हो ।
रम्भाका कोरोना संक्रमितलाई सोमबार बिहान सोही पालिकाको ५ ताहुँस्थित रम्भा माध्यमिक विद्यालयको आइसोलेसनमा लैजाने तयारी भइरहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । यता बगनासकालीका पुरूषलाई भने मिसन अस्पतालको नर्सिङ कलेजमा स्थापना गरिएको आइसोलेसन लगिएको छ ।
यही जेठ १५ गते १८ जना भारतको मुम्बईबाट र १६ गते ११ जना दिल्लीबाट सुनौली नाका हुँदै उनीहरू रम्भा गाउँपालिका आइपुगेका थिए । रम्भाका २९ जनाको स्वाब परीक्षणको लागि भैरहवा पठाएकोमा १३ जनाको रिपोर्ट भने नेगेटिभ आएको अध्यक्ष भण्डारीले बताए ।
प्रतिक्रिया