एजेन्सी ।
कोप्पा इटालियामा एसी मिलानसँग गोलरहित बराबरीका बाबजुद युभेन्टस फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानसँग गोलरहित बराबरीमा रोकिएपछि पनि युभेन्टस फाइनलमा प्रवेश गरेको हो ।
इटालियन च्याम्पियन युभेन्टस अवे गोलको आधारमा फाइनल प्रवेश गरेको हो । पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो ।
दर्शकबिना युभेन्टसको मैदानमा खेलिएको खेलको १५ औं मिनेटमा युभेन्टसले अग्रता लिने सुवर्ण अवसर पाएको थियो । आन्द्रीए कोन्टिले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले भीएआरको सहायता लिँदै पेनाल्टी दिएका थिए । तर रोनाल्डोले पेनाल्टीमा गोल गर्न सकेनन् ।
उनको प्रहार पोस्टको भित्रि भागमा लाग्दै मैदानमै फर्किएको थियो । त्यसको केही बेरमै आन्टे रेबिचले युभेन्टसका डिफेन्डर ड्यानीलोमाथि फल गरेपछि रातो कार्ड खादै मैदानबाट बाहरिदिए । त्यसपछि मिलान १० खेलाडीमा मात्र सीमित रह्यो ।
एक खेलाडी कम खेलेपनि मिलानले खेलमा युभेन्टसलाई दबाब बनाउन दिएन र खेल गोलरहित बराबरीमा सकियो । युभेन्टसले अब उपाधिका लागि इन्टर मिलान र नेपोलीबीच आज हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।
प्रतिक्रिया