१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

भारतमा तीन लाख नाघे कोरोना संक्रमित, महाराष्ट्रमा मात्रै एक लाख



नयाँ दिल्ली ।
भारतमा कोरोना संक्रमितको संख्या शुक्रबार बढेर ३ लाख नाघेको छ । अब भारत सबैभन्दा धेरै संक्रमित भएको चौथो देश भएको छ । यो भाइरसको चपेटमा आएकामध्ये अमेरिका, ब्राजिल र रसियामा भारतमा भन्दा धेरै संक्रमित छन् । भारतमा शुक्रबा रातिसम्ममा संक्रमितको संख्या ३ लाख ५ हजार ९ सय ५१ पुगेको छ । त्यहाँ मर्नेको संख्या ८ हजार ७१८ पुगिसकेको छ । निको हुनेको संख्या १ लाख ५२ हजार रहेको छ ।

३० जनवरीमा भारतमा पहिलो कोरोना संक्रमित भेटिएका थिए । त्यसको ११० दिनमा भारतमा १ मेमा १ लाख संक्रमित पुगेका थिए । त्यसपछि झनै तीव्र गतिमा २५ दिन भित्रै संक्रमितको संख्या ३ लाख नाघेको हो। तर एक अर्ब २५ करोड भन्दा धेरै जनसंख्या भएको भारतमा कोरोना संक्रमणको यो दरलाई एकदमै सुस्त मानिएको छ । अन्य देशको तुलनामा भारतमा कोरोनाको गति लकडाउनका कारण सुस्त भएको हो ।

अमेरिका सबैभन्दा तीव्र गतिमा ८२ दिनमै तीन लाखभन्दा धेरै संक्रमित पाइएका थिए । भारतमा यो आँकडा छुन १३४ दिन लाग्यो । अहिले भारतमा हरेक ५ दिनभित्र ५० हजार नयाँ संक्रमित थपिइरहेका छन् । ६ मे मा देशमा कोरोनाको आँकडा माथि थियो । यसको मतलब देशमा संक्रमणको शुरुवातदेखि ५० हजार छुन ९८ दिन लाग्यो। त्यसपछि गति समातेको हो ।

अघिल्ला ५० हजार संक्रमित केवल १२ दिनमा भेटिए । त्यसपछि एक लाखदेखि १ लाख ५० हजार हुन केबल ८ दिन र एक लाख ५० हजारदेखि २ लाख हुन सात दिन लाग्यो । अहिले २ लाखदेखि २ लाख ५० हजार हुन ५ दिन र साढे २ लाखदेखि ३ लाख केस पुग्‍न केबल ५ दिन लाग्यो । अर्कातिर शुक्रवार नै भारतको महाराष्ट्रमा संक्रमणका ३४९३ केस सार्वजनिक भएका छन् । यसका साथै त्यहाँ संक्रमितको संख्या १ लाख १ हजार १४१ पुगेको छ । यिनमा अधिकांश मुम्बईका छन् । महाराष्ट्र १ लाख संक्रमित हुने एक्लो भारतीय राज्य भएको छ । यहाँ अहिलेसम्म ३७ सय १७ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७ शुक्रबार ००:००  ११ : ०६ बजे