मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँले यस पटक शिक्षालाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने तयारी भएको बताउनु भएको छ । गाउँपालिका भित्र शिक्षाको स्तर अत्यन्तै कमजोर भएको भन्दै उहाँले आव ०७७/०७८ को बजेटमा शिक्षालाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने बताउनु भएको हो ।
सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको दैनिक कार्यक्रम बजेट बहसमा बोल्दै खाँले आफ्नो गाउँपालिकामा शिक्षा क्षेत्रको विकासको लागि अरु धेरै काम गर्न बाँकी रहेको हुँदा बजेटको प्राथमिकतामा शिक्षा परेको बताउनु भयो ।
दोश्रो नम्बरमा खाँले स्वास्थ्यलाई प्राथमिकतामा राख्नु भएको छ । कोरोनाका कारण अहिले स्वास्थ्यलाई पनि उत्तिकै ध्यान दिन जरुरी रहेको उहाँको भनाई छ । शिक्षापछि तेश्रो नम्बरमा कृषि र रोजगारी पनि रहेको उहाँले जानकारी दिनुभयो ।
यसैबीच गाउँपालिका अध्यक्ष खाँले स्वास्थ्यको नयाँ निर्देशिकालाई जनताले नबुझेको हुँदा समस्या भएको बताउनु भएको छ । स्वास्थ्य मन्त्रालयले १४ दिन क्वारेनटाइनमा बसेको अवस्थामा लक्षण नदेखिएकालाई घर फर्काउने भने पनि यस निर्णयलाई समाजले स्विकार गर्न नसकेको बताउनु भएको छ । उहाँले अहिले क्वारेनटाइनमा रहेकाहरुलाई सकेसम्म जाँच गरेरै पठाउने बताउँदै चिकित्सकको परामर्श विना १४ दिन पुगेकालाई त्यसै नछोडिदिने पनि बताउनु भयो ।
अध्यक्ष खाँसंगको थप अन्तर्वार्ता सुन्नका लागि तलको लिंक क्लीक गर्नुहोला ।
प्रतिक्रिया