७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

कोरोनाले आईसीयूसम्म पुर्‍याएको कपिलवस्तुका संक्रमित निको भए



बुटवल ।
कोरोना भाइरसको संक्रमणले स्वास्थ्यस्थिति जटिल अवस्थामा पुगेपनि कपिलवस्तुका एक युवाले कोरोना जितेका छन ।

बुटवलको कोरोना अस्पतालमा आईसीयूमा राखेर उपचार गराइरहेका उनी आज डिस्चार्ज भएका छन् । भारतको मुम्बईबाट घर आएका कपिलवस्तु नगरपालिका–१२ का २२ वर्षे युवक कोरोनाले जटिल अवस्थामा पुगेका थिए ।

जटिल अवस्थामा उपचाररत बिरामीमध्ये निको भएका उनी देशकै सम्भवत पहिलो बिरामी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र खनालले दाबी गरेका छन् । अस्पतालमा ल्याएपछि गरिएको २ पटकको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ आएको र मधुमेहसमेत स्थिर भएकाले आज डस्चार्ज गरिएको हो ।

उनी जेठ पहिलो साता भारतको मुम्बईबाट आएका थिए । त्यसलगत्तै कपिलवस्तु नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा उनी बसेका थिए । त्यहाँ ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई जेठ ८ गते जिल्ला अस्पताल तौलिहवा लगिएको थियो । सोही दिन उनको पीसीआरका लागि स्वाब लिइएको डा.खनालले बताए ।

मधुमेहका समेत बिरामी उनलाई जेठ १४ मा अचेत अवस्थामा अस्पताल ल्याएर २ दिन भेन्टिलेटरमा राखिएको थियो । स्वास्थ्यमा केही सुधार आएपछि मात्र आईसीयूमा सारिएको अस्पताले जनाएको छ । सिकिस्त बिरामी रहेका उनलाई १२ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले अन्यत्र जान भन्दै बुटवल रिफर गरेको थियो ।

उनलाई उपचारको साटो पुनः क्वारेन्टाइमा फर्काइएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि जेठ १४ मा उनलाई कोरोना विशेष अस्पतालमा ल्याइएको थियो । आज १६ दिनपछि निको भएर घर फर्काउन पाउँदा सबै स्वास्थ्यकर्मीहरुलाई खुसी लागेको अस्पतालका फोकल पसर्न डा.सुदर्शन थापाले बताए ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७ शुक्रबार ००:००  ५ : ५८ बजे