मायादेवी अनलाइन, तौलिहवा ।
प्रदेश र जिल्लाको १० पालिकाको संयुक्त लगानीमा संचालनमा आउन लागेको कोरोना प्रयोगशालाको निर्माणको तयारीलाई तीब्र पारिएको छ । प्रदेश सरकारको ५० लाख र जिल्लाका १० पालिकाको ६० लाख गरी कुल एक करोड १० लाखको लगानीमा प्रयोगशाला निर्माण थालिएको हो ।
प्रयोगशाला संचालनका फोकल पर्सन तथा कपिलवस्तु अस्पतालका मेसु डा. किशोर बन्जाडेले प्रयोगशाला संचालनको तयारीलाई तीब्र पारिएको बताए । पिसीआर मेसिन खरिद, स्थान छनौट, प्रतिबेदन निर्माण लगायतमा जुटेको उनले बताए । मेसिन खरिदका लागि जर्मनी कम्पनीसंग सम्पर्क गरेको उनले बताए ।
यस्तै तौलिहवास्थित जिल्ला स्वास्थ्य कार्यालयको भवन प्रयोगशालाका लागि उपयुक्त हुने उनले बताए । ल्याव निर्माणका लागि चाहिने मेसिन सामग्री, जनशक्ति स्थान छनौट लगायतका कुरा मिले भने एक महिना भित्र प्रयोगशाला संचालनमा आउने उनले बिश्वास ब्यक्त गरे । ‘एक महिना भित्रै प्रदेश नम्बर ५ कै नमुना प्रयोगशाला बनाउने गरी तयारी अघि बढाएका छौ, त्यसका लागि आवश्यक रकम लगायतका कुरा जुटे भने सयममै निर्माण हुन्छ’ स्थापना हुने ल्याबमा कोरोना मात्र नभई अन्य भाइरस पनि जाँच गर्न मिल्नेछ,’ अस्पतालको मेसु डा. बन्जाडेले भने, ’हामीले जर्मनमा बनेको गुणस्तरीय मेसिन खरिद गर्ने योजना बनाइएका छौं ।’
सुरक्षित बनाउन बि एस एल २ (बायो सेफ्टी लेभल २) को संरचनामा ल्याब निमार्ण हुने उनले बताए । लेभल २ को ल्याबमा ‘अटो क्लेभ,’ ’सेफ्टी क्याबिनेट,’ भेन्टिलेसन कन्ट्रोल लगायत सुविधा हुनेछन् । प्रजिअ दीर्घ नारायण पौडेलले प्रयोगशाला निर्माणका लागि सुरुवात गरिएको बताए । प्रदेश ५ का तीन स्थानमा पिसीआर ल्याब सञ्चालित छन् ।
प्रतिक्रिया