बिष्णु कुमार आले, अर्घाखाँची ।
सन्धिखर्क नगरपालिकामा कार्यरत कर्मचारी तथा जनप्रतिनिधि गरी १ सय ३० जनाको स्वाब परिक्षणका लागि पठाईएको छ । सोमबार सन्धिखर्क नगरपालिकाका उपमेयरसहित ३१ जनामा कोरोना संक्रमण पुष्टी भएपछि नगरपालिकाका कर्मचारी र उप-प्रमुखसँग प्रत्यक्ष सम्पर्कमा आएका १ सय ३० जनाको स्वाब निकालेर परिक्षणका लागि भरतपुर पशुपन्छी कार्यालयमा रहेको कोभिड १९ ल्याव प्रयोगशालामा बुधबार पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत बिजय बिकले जानकारी दिए ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान प्रयोगशाला दाङमा स्वाब परिक्षणको चाँप अत्यन्तै बढेसंगै स्वाब लिन नमानेपछि अर्घाखाँचीको सन्धिखर्क नगरपालिका कार्यालयको र मालारानी गाँउपालिकाको गरी २ सय ९ जनाको स्वाब भरतपुर प्रयोगशालामा पठाईएको हो ।
पिसीआर रिपोर्ट नआउँदासम्म नगरपालिकाका सम्पुर्ण कामकाज बन्द गरिएको छ । सबै कर्मचारीहरुलाई होम क्वारेन्टाइनमा छुट्टै कोठामा बस्न अनुरोध गरिएको र पिसीआर रिपोर्ट नआउँदासम्म कार्यालयको सम्पुर्ण कामकाज तथा सेवा समेत बन्द रहने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले जानकारी दिए ।
सोमवार पुष्टी भएका ३१ जनामा सन्धिखर्क नगरपालिकाका उपमेयर, सन्धिखर्क ६ का १३ जना र सन्धिखर्क ७ का १५ जना रहेका छन् । सन्धिखर्क ६ का भृकुटी आधारभुत विद्यालय र विद्या विनय आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । ७ नम्वर वडाका चन्द्र प्रभा मावि र आदर्श माविको क्वारेन्टाइनमा बसेका थिए । पाणिनी गाउँपालिका ७ को शिव मदन माविको क्वारेन्टाइनमा बसेका २० बर्षिय एक जना पुरूष र शितगंगा नगरपालिका १० को जनजागृती माबि क्वारेन्टाइनमा बसेका १८ बर्षीय एकजना पुरूषमा कोरोना देखिएको थियो ।
संक्रमित सवैजनालाई सन्धिखर्क नगरपालिकाको हटारीनेटामा रहेको आइसोलेसन भवनमा राखिएको छ । उपमेयर भने होम क्वारेन्टाइनमा वस्ने छन् । हटारीनेटामा रहेको ४० बेडको आइसोलेसनको परिसर व्यवस्थापनमा कमजोरी देखिएको स्थानीयको गुनासो छ ।
आइसोलेसनमा प्रयाप्त खानेपानीको अभाव भएको र परिसर वरिपरि सफासुग्घर राख्न स्थानीयले सुझाव समेत दिएका छन् । जिल्लामा कोरोना संक्रमितको चाँप बढ्न थालेपछि ६ ओटै स्थानीय तहमा आइसोलेसन निर्माण गर्नेबारे छलफल चलिरहेको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले बताए । अनौपचारिक रूपमा छलफल भैरहेको तर आधिकारीक रूपमा निर्णय नभएको उनले बताए ।
जिल्लाका बिभिन्न स्थानीयतहका क्वारेन्टाइनमा बुधबारसम्म ४ हजार १७ जना बसेका छन् । अहिलेसम्म जिल्लाभर २ हजार ९ सय ३९ जनाको आरडिटी परिक्षण गरिएकोमा २ हजार ७ सय २८ जनाको नेगेटिभ र २ सय ११ जनाको पोजेटिभ आएको छ ।
त्यस्तै १ हजार २ सय २८ जनाको पिसिआर परिक्षण गरिएकोमा ३६ जनाको रिपोर्ट पोजिटिभ ,२ सय ४८ जनाको नेगेटिभ र ९ सय ४४ जनाको पिसीआर रिपोर्ट आउँन बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्रतिक्रिया