७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

पिसीआर नगरी घर फर्काइए, कपिलवस्तुका १ सय ४३ कोरोना संक्रमित



मायादेवी अनलाइन, तौलिहवा ।
कोरोनाको केन्द्र बनेको कपिलस्तुमा पिसीआर परीक्षण नगरी कोरोना मुक्त भएको भन्दै आइसोलेसनमा उपचाररत एक सय ४३ जनालाई घर फर्काइएको छ । स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिकाअनुरूप पालिकाहरूले आइसोलेसनमा बसेका संक्रमितलाई निको भएको भन्दै घर फर्काउन थालेका हुन् ।

निर्देशिकाअनुसार जिल्लाका नौ जना संक्रमितलाई बुटवलस्थित कोरोना विशेष अस्पातलबाट घर फर्काइएको थियो । जिल्लाकै स्थानीय तहहरूले एक सय ३४ संक्रमितलाई घर फर्काएका हुन् । यो निर्देशिका जारी हुनुपूर्व संक्रमितको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि मात्र घर फर्काउने गरिएको थियो ।

ती रिपोर्ट नेगेटिभ आएका जिल्लाका ४२ जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यस्तै दोस्रो रिपोर्ट आएपछि दुई सञ्चारकर्मीलाई घर पठाइएको छ ।

मन्त्रालयको नयाँ निर्देशिका पाँच दिनअघि आएको थियो । त्यसयता गत जेठ २४ देखि जिल्लामा त्यहि निर्देशिका अनुसार संक्रमितको कोरोना परीक्षण बिना घर पठाउन थालिएको हो । नयाँ निर्देशिकाअनुसार आइसोलेसनमा बसेको १४ दिन पूरा भएको र कोरोनाको कुनै लक्षण नदेखिए सात दिन घर स्वआइसोलनमा बस्नेगरी संक्रमितलाई घर पठाउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सरकारले जारी गरेको यो निर्देशिकाको चौतर्फी आलोचना भइरहेको छ । यसलाई स्वास्थ्यकर्मीले समेत घातक कदम भन्दै चिन्ता प्रकट गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यशोधरा गाउँपालिकाबाट ६०, महाराजगन्ज नगरपालिकाबाट ५०, कपिलवस्तु नगरपालिका ११ र मायादेबी गाउँपालिकाबाट १३ जनालाई घर फर्काइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

घर फर्काउनु पूर्व प्रशासन कार्यालयले खटाएका चिकित्सकहरूले संक्रमितको स्वास्थ्य अवस्था बुझेको थियो । संक्रमितमा कोरोनाको कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्थासमेत सामान्य भएको भन्दै नया निर्देशिका अनुसार सात दिन होम आइसोलेसनमा बस्ने गरी घर फर्काइएको स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतले बताए ।

यशोधरा गाउँपालिकाको अनिरुद्र पब्लिक माविको आइसोलेसनमा दुई हप्ता पूरा गरेका ६३ मध्ये ३८ जनाको स्वाब संकलन गरी दोस्रो पिसीआरका लागि दाङ पठाइएको थियो ।

गत जेठ २१ गते स्वाब पठाइएकोमा रिपोर्टसमेत आउन बाँकी रहेका बेला ३८ जनालाई समेत नयाँ निर्देशिकाअनुसार घर जान दिइएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योतिप्रसाद दुबेले बताए ।
‘गाउँपालिकाले संक्रमितको पिसीआर परीक्षणपछि मात्र घर जान दिने सोच बनाएको थियो तर नयाँ निर्देशिका आएपछि हामीले डाक्टरहरूको सुझावअनुसार घर जान दिएको हौं,’ उनले भने ।

यसरी कोरोना परीक्षणबिना पछि केही समस्या आए यसको जिम्मेवारी कसले लिने भन्ने ठूलो चुनौती रहे पनि आफूहरूले सरकारी निर्णयको कार्यान्वय गरेको उनले बताए ।

महाराजगन्ज नगरपालिकाका मेयर अब्दुल कलाम खाँले बिना परीक्षण यसरी संक्रमितहरूलाई छाडिँदा समुदायमा संक्रमण फैलन सक्ने खतरा रहेको बताए । ‘ क्वारेन्टिन र आइसोलेसन गरी एक महिना त्यत्तिकै बिताएका संक्रमितहरूको पिसीआर परीक्षण गरेर घर फर्काउँदा उचित हुन्थ्यो,’ उनले भने, ‘तर केन्द्र सरकरले नयाँ नियम बनाएपछि हामीले घर जान दिएका हौं ।’ तर यो प्रावधानले समाजमा त्रास फैलिएको उनको भनाइ छ ।

उता अधिकारकर्मी रवि ठाकुरले बिना परीक्षण संक्रमितलाई घर जान दिनु गलत रहेको बताए । उनले सरकारले जनताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै यो निर्णयमा पुनर्विचार गर्नुपर्ने माग गरे । कपिलवस्तुमा सोमबार साँझसम्म पाँच सय ५० जना संक्रमति भेटिएका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७ मंगलबार ००:००  ११ : ३६ बजे