मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले कोरोना भाइरसको नमुना परिक्षण पिसीआर विधिबाटै भैरहेको जानकारी दिनुभएको छ । नगरपालिकाले १ हजार पिसीआर किट खरिद गरेको भन्दै नगरभित्रका क्वारेनटाइनमा रहेकाहरुलाई यहि विधिबाट कोरोना परिक्षण हुने जानकारी दिनुभयो ।
मायादेवी अनलाइनसंग सोमबार साँझ कुराकानी गर्दै नगर प्रमुख श्रेष्ठले आरडिटी परिक्षण गरेर कसैलाई घर नपठाइएको स्पष्ट पार्नुभएको छ ।
आरडिटी परिक्षणबारे विभिन्न व्यक्तिले आ-आफ्ना विचार प्रकट गरिरहेको बेला नगर प्रमुख श्रेष्ठले नगरमा आवश्यक पिसीआर किट उपलब्ध भएकाले आरडिटी परिक्षणको जरुरी नरहेको बताउनुभयो ।
बुद्धभूमि नगरपालिकामा सोमबार साँझसम्म २९ जनामा कोरोना संक्रमण देखिएको छ । नगरपालिकाबाट अहिलेसम्म ५ सय ९६ जनाको स्वाब संकलन गरिएको छ । जसमा ५ सय जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६७ जनाको रिपोर्ट अझै आइपुगेको छैन ।
नगर प्रमुख श्रेष्ठले नगरपालिकाले ५० बेडको आइसोलेशन सेन्टर बनाएको बताउनुभयो । गोरुसिंगेको एक होटललाई आइसोलेशन सेन्टर बनाएर कोरोना संक्रमितलाई उपचार गरिएको उहाँले बताउनुभयो ।
नगरपालिकाले नगरका १० वटै वडामा क्वारेनटाइन निर्माण गरेको छ । भारत तथा तेस्रो मुलुकबाट आएका र कोरोनाका आशंका गरिएका व्यक्तिलाई क्वारेनटाइनमा राखिएको उहाँले बताउनुभयो ।
स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार सोमबार साँझसम्म बुद्धभूमि नगरपालिकाका १० वडाका क्वारेनटाइनमा ३ सय २७ जना रहेका छन ।
प्रतिक्रिया