मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु वाणगंगा नगरपालिकाका जनप्रतिनिधिले दश दिनको सुविधावापत पाउने रकम नगरको कोरोना विपत कोषमा राख्ने भएका छन् ।
सोमबार बसेको नगर कार्यपालिकाको बैठकले सबै जनप्रतिनिधिको दश दिनको सुविधावापतको रकम काटेर कोषमा जम्मा गर्ने निर्णय गरेको हो । स्थानीय तहका जनप्रतिनिधिले सेवा गरे वापत घुमाउरो प्रक्रियाबाट तलब भत्ता पाउँदै आएका छन् ।
यस्तै सोमबारको बैठकले आगामी असार ५ गते नीति तथा कार्यक्रम र असार १० गते नीति, कार्यक्रमसहितको बजेट ल्याउने निर्णय गरेको छ । त्यसको लागि नगरले आजै देखि तयारी थालेको नगरका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।
सातौं नगरसभा मार्फत नगरले आर्थिक बर्ष ०७७/०७८ को बजेट ल्याउन थालेको प्रवक्ता पौडेलले बताउनुभयो ।
नगरका ११ वटै वडाले ५०/५० लाखका दरले यस बर्ष बजेट पाउने भएका छन । यस्तै चार प्राथमिकताका आधारमा अरु बजेट वडालाई दिने नगरको तयारी छ । वडालाई ५० लाख बाहेक जनसंख्या, भुगोल, विकटता र आर्थिक आयको दरले अन्य बजेट दिने नगरपालिकाको नगर कार्यपालिका बैठकले निर्णय गरेको छ ।
प्रतिक्रिया