एजेन्सी ।
युरोपियन फुटबलको सर्वोच्च निकाय (युइएफए) ले कोरोना महामारीका कारण प्रभावित बनेको यो सिजनको युइएफए च्याम्पियन्स लिगको बाँकी खेल अगस्टमा सकाउनको लागि एकै लेगको खेल गरेर ‘मिनी टुर्नामेन्ट’ को अवधारणा अघि सारेको छ ।
त्यही मिनि टुर्नामेन्ट युइएफएले पोर्चुगलको लिस्वनमा हुने सम्भावना बढी रहेको छ । यो सिजनको च्याम्पियन्स लिगको फाइनल टर्कीको इस्तानबुलमा हुने तय भएपनि कोरोनाका कारण प्रभावित बनेको थियो । च्याम्पियन्स लिगका बाँकी रहेका क्वाटरफाइनलदेखि फाइनलसम्मको खेल इस्तानबुलमा गराउने प्रस्ताव गरेपनि इस्तानबुल शहरले समर्थकविना आयोजनाको आर्थिक भार थेग्न नसक्ने प्रष्ट पारेको छ ।
रसियाको मस्को, जर्मनीको फ्रान्कफर्ट र पोर्चुगलको लिस्वनले आयोजना गर्ने दावी गरेपनि रिपोर्टको दावी अनुसार युइएफएका अध्यक्ष एलेक्सन्डर सेफरिनले पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि रसियाको मस्कोको प्रस्तावलाई अस्वीकार गरिसकेको छ । युइएफएले लिस्वन र फ्रान्कफर्टबारे अध्ययन गरिरहेको छ । सम्भावित भेन्युको रुपमा लिस्वन नै अघि रहेको छ ।
फ्रान्कफर्टमा प्रतियोगिता आयोजना गर्दा जर्मन क्लबलाई घरेलु मैदानको फाइदा हुने आँकलन गरिदा पोर्चुगलका क्लबहरु च्याम्पियन्स लिगमा नरहेका कारण युइएफएले यही नै बाँकी खेलहरु खेलाउने सम्भावना रहेको छ ।
लिस्वनले २०१४ मा फाइनलको सफल आयोजना गरेको थियो । जहाँ कार्लो एन्सेलोटीको प्रशिक्षणमा स्पेनिस क्लब रियल म्याड्रिडले शहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई पराजित गर्दै च्याम्पियन बनेको थियो ।
यसबारे १७ जुनमा बस्ने युइएफएको बोर्ड मिटिङले च्याम्पियन्स लिगको भेन्यु र खेल तालिकाबारे घोषणा गर्नेछ । युइएफएले अगस्टमा च्याम्पियन्स लिग सकाउने योजना बनाएको छ ।
इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल म्याड्रिड, जर्मन क्लब बायर्न म्युनिख र इंग्लिस क्लब चेल्सी, स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नेपोली तथा इटालियन क्लब युभेन्टस र फ्रेन्च क्लब लियोनबीच प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेल बाँकी छ ।
पहिलो लेगमा रियल सिटीसँग २–१ ले तथा युभेन्टस लियोनसँग १–० ले पछि छ । बायर्नले चेल्सीलाई ३–० ले पछि पार्दा बार्सिलोना र नेपोली १–१ गोलको बराबरीको अवस्थामा छ ।
प्रतिक्रिया