७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

कपिलवस्तुमा अचम्मै छ ! आइसोलेशनमा रहेका ३० जना संक्रमित पुनः क्वारेनटाइन मै फर्किए



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा तयार गरिएका अधिकांश आइसोलेशन क्वारेनटाइन भन्दा पनि खत्तम भएको भन्दै संक्रमितहरू आइसोलेशनमा बस्नै मान्दैनन् । खानेपानी, शौचालय, बेड लगायतका कुराहरू समेत नभएको भन्दै संक्रमितहरू आइसोलेशनमा बस्न नमानेका हुन् । बिहीबार मात्र दुई पालिकामा रहेको संक्रमितहरू आइसोलेशनमा बस्न मानेनन् ।

संक्रमित भए पछि एम्बुलेन्स मार्फत आइसोलेशनमा लगिएका उनीहरू त्यहाँ क्वारेनटाइन भन्दा पनि असुविधा भएको भन्दै उनीहरू पुनः क्वारेनटाइन मै फर्केका छन् । कपिलवस्तु नगरपालिकाका–११ रहेरामा रहेका ११ संक्रमित तथा शुद्धोधन गाउँपालिकाको लवनीमा रहेको अलशेष अस्पतालकोे आइसोलेशनबाट १९ जना क्वारेन्टाइन मै फर्केका छन् ।

कपिलवस्तु नगरपालिका वडा नम्बर–८ का वडाध्यक्ष शिव कुमार पाण्डेयले आफ्ना वडाका रहेरा आइसोलेशनमा रहेका ११ संक्रमितलाई बिहीबार राति क्वारेनटाइनमा फिर्ता लिएको बताए । संक्रमित पुष्टि भएपछि उनीहरूलाई एक साता अघि रहेरा लगिएको थियो । ‘पाँच सात दिन असुविधा झेल्दै आइसोलेशनमा संक्रमितले बिताए । बिरामी नै पर्ने अवस्था आएपछि टेक्टरमा उनीहरूलाई फिर्ता ल्याए’ वडाध्यक्ष पाण्डेयले भने ।

११ जनै संक्रमितलाई वडाको दोहनीमा रहेका बिश्वमैत्री आधारभुत विद्यालयको क्वारेनटाइनमा पुनः फर्काएर राखेको उनले बताए । संक्रमित मध्ये ३ जनाको टाउको दुःखेको बिषयमा जानकारी गराए पनि कसैले सुनवाई नगरेको उनले गुनासो गरे ।

‘आइसोलेशनमा पानीको ब्यवस्था छैन, रेखदेख गर्ने पनि कोही छैन, यस्तोमा संक्रमितलाई केही भयो भने त्यसको जिम्मेवारी कसले लिने’ उनले आक्रोसित हुँदै भने ‘आइसोलेशन त नाम मात्रको पो रहेछ, क्वारेनटाइन जतिको पनि सुविधा छैन ।’ संक्रमितहरूको आग्रह अनुसार आफुले उनीहरुलाई रातारात फर्काएर क्वारेनटाइनमा पुर्याएको बताए ।

रहेरा क्वारेनटाइनमा रहेका संक्रमितहरूको अवस्था देख्दा आफु निकै दुःखी भएको उनले बताए । ५० बेडको आइसोलेशन रहेको रहेरामा अब केवल सात जना मात्र संक्रमित त्यहाँ रहेका छन् । वडाध्यक्ष पाण्डेयले संक्रमित भएकाहरू क्वारेनटाइन र आइसोलेशनमा बसेको करिब एक महिना हुँदा समेत चेकजाँचमा समेत ढिलाई गरिएको बताए । नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले नगरपालिकाले उपलब्ध गराएको सेवा सुविधा उनीहरूलाई दिइएको बताए ।

गत बुधबार शुद्धोधन गाउँपालिकाका–६ का एकै पटक २८ जना संक्रमित थपिए । संक्रमण देखिएका व्यक्ति वडा नम्बर ६ को गौरा स्थित आधारभुत बिद्यालय गौराको क्वारेनटाइनका हुन् । उनीहरुलाई संक्रमण देखिएपछि एम्बुलेन्समा राखेर शुद्धोधन गाउँपालिकाको लबनीमा रहेको अल शेख हस्पिटलमा निर्मित आइसोलेशन सेन्टरमा एम्बुलेन्समा लगिएको थियो ।

१५ शैया क्षमताको सो आइसोलेशनमा यस अघि संक्रमण देखिएका मध्ये १ जना थिए । थपिएका २८ जनापछि संक्रमितको संख्या २९ पुगेको थियो । अल शेष आइसोलेशन सेन्टरको दुरावस्था देखेर संक्रमितहरू त्यहा बस्न मानेनन् । त्यो सेन्टर भन्दा बरु आफु बस्दै आएको विद्यालयको क्वारेनटाइन नै ठीक रहेको संक्रमितहरू बताउँछन् ।

अस्पताल भएपनि नाम मात्रको आइसोलेशन भएको र त्यहा आफुहरू बस्ने नसक्ने भन्दै उनीहरू त्यहाबाट फर्किए । वडा नम्बर ६ को गौराका मात्रै १९ जनामा संक्रमण पुष्टि भएको थियो भने अरु संक्रमित महादेव र बेलभरिया गाँउका हुन् । सेन्टर व्यवस्थित नभएपछि आफुहरू पुनः गौरोकै क्वारेनटाइन मा बस्ने गरि त्यहाँबाट हिडेको एक संक्रमितले बताए । ‘सुत्नका लागि बाहिर टिनको बरण्डामा टेन्टका खाट ओछ्याईएको, पंखा नै थिएन, सफा शौचालयको सुविधा नभएको संक्रमितको गुनासो छ । मासिक ३० हजार रुपैयाँ भाडामा लिई अल शेख नामक निजी अस्पतालमा १५ शैयाको आइसोलेसन तयार गरिएको थियो ।

‘संक्रमितलाई राख्न १५ शैयाको आइसोलेशन बनाएका थियौं । आइसोलेशनको क्षमता बढि संक्रमित फेला परेपछि तत्कालै पालिकाबाट २५ बेड किनेर बस्ने व्यवस्था मिलायौं’ गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक असफाक अहमद खाँले भने, ‘तर कसैको उक्साहटमा क्वारेनटाइनमै फर्कन्छौ भन्दै संक्रमण भेटिएका व्यक्ति हिडेछन् ।’

आइसोलेशनमा बस्न नमानेर पुनः गौरा स्थित क्वारेनटाइनमा फर्किएका १९ जनालाई आधारभुत विद्यालय गौरामा लगेर छुट्टै भवनमा राखिएको ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरिक्षक गणेश सुवेदीले बताए ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७ शनिबार ००:००  ५ : २७ बजे