मायादेवी अनलाइन, चार नम्बर ।
बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना कपिलवस्तुका ९ जना पिसीआर जाँच विनै (शनिबार) आज सुटुक्क डिस्चार्ज भएका छन् । कोरोना संक्रमण देखिएपछि १४ दिनअघि कोरोना अस्पताल भर्ना भएका २७ जनालाई आज डिस्चार्ज गर्ने क्रममा कपिलवस्तुका ९ जना परेका हुन् ।
यस्तै उनीहरुसंगै रुपन्देहीका १८ जनालाई पनि पीसीआर परीक्षण विनै घर पठाइएको अस्पत्तालले जनाएको छ । १४ दिन अस्पत्तालमा बस्दासम्म कुनै कोरोनाका लक्षण नदेखिएपछि सिधै डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रवक्ता डा. विष्णु गौतमले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जेठ २० गते जारी गरिएको स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अनुसार कोरोनासँग मिल्दो लक्षण नदेखिएकाले डिस्चार्ज गरेका हौं’ । त्यसअघि १४ दिन आइसोलेसनमा बसेपछि लगातार दुईपटक पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै अस्पतालबाट डिस्चार्ज गर्ने गरिएको थियो ।
पहिले डिस्चार्ज गर्दा संचारकर्मीलाई खबर गरिए पनि अहिले भने विना खबर सुटुक्क संक्रमितलाई घर पठाइएको छ । अस्पत्तालले अब उनीहरुको निगरानी स्थानीय तहका स्वास्थ्य केन्द्रले गर्ने जनाइएको छ ।
प्रवक्ता गौतमका अनुसार ३६ बेडको आइसोलेसन अस्पतालमा अब ४ जना जनरल कक्षमा र ३ जना आईसीयूमा रहेका छन् । यसअघि उक्त अस्पतालबाट दुईपटक गरी १८ जना डिस्चार्ज भइसकेका छन् ।
प्रतिक्रिया