मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा लकडाउनको स्वरुप परिवर्तन भइरहेका बेला बैङ्कर्स क्लव वाणगंगाले बैंक खुल्ने विषयमा नयाँ निर्णय गरेको छ ।
वाणगंगा नगरपालिका भित्रका वैंकहरुको चारनम्बरमा आज बसेको भेलाले हप्ताको ३ दिन बैंक संचालन गर्ने निर्णय गरेको हो । हप्ताको ३ दिन आइतबार, मंगलबार र विहिबार विहान ११ बजेदेखि दिउसो २ बजेसम्म वाणगंगा नगरका सवै बैंकहरु खुला रहने बैङ्कर्स क्लव वाणगंगाका अध्यक्ष अनुराग पाण्डेले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको जेठ २० को निर्णय अनुसार जोर विजोर खाता नम्बर अनुसार कारोबार गर्न व्यवहारिक कठिनाई हुने बताउदै ग्राहकको सुविधाको लागि हप्ताको ३ दिन नगरका सवै वैंकहरु सोही समयमा खुल्ने निर्णय भएको क्लवका अध्यक्ष तथा शाईन रेसुङ्गा डेभलेपमेण्ट वैंक चारनम्बर शाखाका प्रबन्धक अनुराग पाण्डेले बताउनुभयो ।
उहाँका अनुसार सवै बैंकमा ग्राहकको बचत खाता (विजोर खाता नम्बर) हुने भएकाले जोर विजोरको निर्णय कार्यान्वयनमा जटिलता आउने भएको हो । दुई तीन प्रतिशत मात्र ग्राहकको ओडी खाता जोर हुने भएकाले पनि प्रभावकारी नदेखिएको बताइएको छ ।
हप्ताको ३ दिन नगरका सवै बैंकहरु संचालन हुँदा ग्राहकहरुको भिडभाड हुने छैन, ग्लोबल बैंक पिपरा शाखाका प्रबन्धक तथा क्लवका उपाध्यक्ष पिताम्बर पोख्रेलले भन्नुभयो,–‘सामाजिक दुरी कायम गरेर सुरक्षित रुपमा कारोवार गर्दछौं ।’
बैंकहरुले आफनो केन्द्रिय कार्यालयको निति अनुसार पनि संचालन गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।
बैङ्कर्सहरुको भेलाले वाणगंगा नगरपालिका भित्र सरकारी स्वामित्वमा रहेका राष्ट्रिय वाणिज्य वैंक र कृषि विकास वैंक सहित, अन्य वाणिज्य वैंक, विकास बैंक, फाइनान्स सहितका २८ वटा वैंक हप्ताको ३ दिन आइतबार, मंगलबार र विहिबार संचालन हुने बताएका छन् । भेलामा सवै वैंकका शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया