७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

जबरजस्ती आइसोलेशन सेन्टर बनाउन खोजिएको भन्दै स्थानीयद्धारा तालाबन्दी



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिका वडा नं. ३ स्थित साविक महिला तथा बालबालिका कार्यालयको भवन आइसोलेशनका लागि अनुपयुक्त रहे पनि जबरजस्ती बनाउन खोजेको भन्दै स्थानीयले गेटमा तालाबन्दी गरेका छन् ।

स्थानीय युवा अगुवा बलराम तिवारीको नेतृत्वमा वडा नं. ३ अन्र्तगतका सुखरामपुर र विद्युत कार्यालय चोक वरपरका स्थानीयले महिला विकास कार्यालय भवनको मुख्य गेटमा तालावन्दी गरी विरोध जनाएका हुन ।

जिल्ला प्रशासन कार्यालयमा गरिएको बैठकले सो सहीत जिल्लामा पाँच स्थानमा आइसोलेशन सेन्टर निर्माण गर्ने निर्णय गरेको थियो । उनीहरुले यस अघि सो स्थानमा आईसोलेशन बनाउन नहुने भन्दै सय बढीले हस्ताक्षर गरी नगरपालिकामा समेत ज्ञापन पत्र दिएका थिए ।

आईसोलेशन वार्ड निर्माण गर्नका लागि नगरपालिका क्षेत्रका अन्य स्थलहरु चयन गर्न उनीहरुले माग गरेका छन । कुनै हालतमा पनि सो भवन र आसपासको क्षेत्रमा आईसोलेशन वार्ड निर्माण गर्न नदिने र जबरजस्ती गरी आन्दोनमा उत्रने समेत चेतावनी दिएका छन ।

भवनमा १० बेड पनि नअटाउने र सो भवन नजिक भएर बग्ने जमुवार नदीमा पवित्र छठ पूजा कार्यक्रम संचालन हुने हुँदा आफुहरुको धार्मिक पूजाआजामा समेत कठिनाई उत्पन्न हुने युवा अगुवा तिवारीले बताए । कपिलवस्तु नगरपालिकाले रेहरामा ५० वेडको आइसोलेशन वार्ड निर्माण गरि सकेको उनले बताए ।

अन्य स्थानमा बनाउने तयारी गरिरहेका बेला स्थानीय प्रशासनले जबरजस्ती महिला विकास कार्यालय भवनमै आइसोलेशन वार्ड वनाउन खोज्नु हाम्रा लागि कदापी मान्य नहुने उनले बताए । सो भवनमा हाल एक गैर सरकारी संस्था भाडामा बसेको छ ।

सोही भवनमा नगरपालिकाका कर्मचारी र महिला विकास तथा नगरपालिकाका अफिसियल कागजपत्रहरु राखिएका छन् । कपिलवस्तु नगरपालिकाले पनि सो भवनमा आईसोलेशन वार्ड स्थापना गर्न नसकिने र त्यसको बिकल्प सहीतको स्थान चयन गरी प्रशासनलार्इृ जानकारी गराई सकेको छ ।

नगरपालिकाले रहेरामा ५० वेडको आइसोलेशन वार्ड बनाई सकेको र बुद्धपद्म माविमा समेत बनाउने तयारी गरेको नगर प्रमुख किरण सिंहले बताए । नयाँ तीन चार ठाउँ मध्ये एक ठाउँ छनौट गरी एक दुई दिन भित्रै निर्माण काम शुरु गरिने नगर प्रमुख सिंहले बताए ।

महिला विकास कार्यालय भवन लुम्विनी एकीकृत विकास संस्थाले ३ वर्षका लागि कपिलवस्तु नगरपालिकासंग सवै कानुनी प्रक्रिया पुरा गरी भाडामा लिएका कारण उसलाई तत्काल त्यहाँबाट हटाउन नमिल्ने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७ बुधबार ००:००  ८ : ५३ बजे