मायादेवी अनलाइन, चार नम्बर ।
जिल्लाबासीलाई आश्चर्य पार्ने गरी कपिलवस्तु प्रशासनले नदीजन्य पदार्थको दोहनका लागि बाटो खुल्ला गरेको छ । कोरोना संक्रमणमा मूलुकमै अग्रपक्तिमा रहेको कपिलवस्तुमा सर्वसाधाणहरु त्रसित भैरहेको अवस्थामा प्रशासनले लिएको यो निर्णयले जिल्लाबासी आश्चर्यमा परेका हुन् ।
मंगलबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । केन्द्रको निर्णयमा ‘नदीजन्य पदार्थहरू पूर्ववत् रुपमा संकलन तथा ढुवानी’ गर्न पाइने भनिएको छ ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाइएको लकडाउनका बेला अत्यावश्यक बाहेकका गतिविधिमा रोक लगाएको अवस्थामा ढुंगा, बालुवा, गिटी लगायतका नदीजन्य पदार्थ निकाल्न पाइने भएको हो ।
जिल्ला प्रशासन कार्यालयको विज्ञप्तिमा नदीजन्य पदार्थ संकलन तथा ढुवानी अनुमति बिनै गर्न पाइने उल्लेख गरिएको छ । जबकी अन्य निर्माण सामग्री, वित्तीय संस्था सञ्चालन गर्नका लागि निश्चित अवधी निर्धारण गरिएको छ ।
कोरोना संकट व्यवस्थापन केन्द्रले खाद्य सामग्री सञ्चालन गर्दा समेत तोकिएको शर्तको अधीनमा रहेर जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भनिएको छ । राष्ट्रिय गौरवका आयोजनाहरू, विद्युत सामग्री उत्पादन गर्ने उद्योग इँटा, छड, फर्निचर उद्योग लगायत सञ्चालनका लागि अनुमति लिनुपर्ने उल्लेख छ ।
निर्णय नं. ४ मा भनिएको छ, ‘निर्माणसम्बन्धी उद्योगहरू (इटा, सिमेन्ट, छड, प्लाइउड, फर्निचर), विद्युतीय सामग्री उत्पादन गर्ने उद्योगहरू र खाद्य सामग्री उत्पादन गर्ने उद्योगहरू, राष्ट्रिय गौरवका आयोजनाहरू र प्राथमिकता प्राप्त आयोजनाहरू तोकिएको शर्तको अधीनमा रही जिल्ला प्रशासन कार्यालयको अनुमति लिई सञ्चालन गर्न सकिने छ ।’
तर गिटी, बालुवा, ढुंगालगायतका नदीजन्य पदार्थ उत्खनन् र ढुवानी गर्दा भने अनुमति लिनुपर्ने भनिएको छैन ।
प्रतिक्रिया