८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

लकडाउनको स्वरुप परिवर्तन गर्न संघको सुझाव



मायादेवी अनलाइन, चार नम्बर ।
कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा वाणगंगा नगरक्षेत्रमा प्रभावकारी भूमिका खेलिरहेको कपिलवस्तु उद्योग वाणिज्य संघले स्थानीय प्रशासनलाई लिखित सुझाव पेश गरेको छ ।

संघको कार्यालय चारनम्बरमा सोमबार सम्पन्न वैठकले लकडाउनको समग्र समिक्षा गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुलाई लकडाउनको स्वरुप परिवर्तनका लागि निर्णय सहित आवश्यक सुझाव पठाएको हो ।

संघका अध्यक्ष उमानाथ पौडेलका अनुसार पछिल्लो समय विहान र दिउसोमा अत्यावश्यक वस्तु तथा वैकिङ्ग सेवा संचालन हुँदा भिडभाड बढेको र अनावश्यक काममा मानिसहरुको जमघट बढेकाले उक्त समय परिवर्तन गर्नुपर्ने निर्णय गरेको छ ।

संघले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुलाई प्रत्येक दिन विहान ११ बजेदेखि दिउसो २ बजेसम्म नगरका अत्यावश्यक व्यवसाय तथा वैकिङ्ग सेवा संचालन गर्न उपर्युक्त हुने निर्णय गर्दै सुझाव पेश गरेको हो ।

संघले सवै व्यवसाय सदस्यसंगको राय सुझावका आधारमा नगरक्षेत्र भित्र लकडाउनलाई व्यवस्थित बनाउदै थप कोरोना संक्रमण फैलिन नदिन ११ बजे देखि २ बजे सम्म अत्यावश्यक व्यवसाय र वैकिङ्ग सेवा सुचारु गर्न प्रशासनमा पहल गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

तर जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले हाल विहान ७ बजेदेखि ९ बजे सम्म अत्यावश्यक वस्तु तथा प्रत्येक दिन वैंक तथा वित्तिय संस्था संचालन हुने बताएको छ । प्रशासन र नगरपालिकाको समन्वयमा संघले गरेको निर्णयलाई आफनो नगरक्षेत्रमा कार्यान्वयन ल्याइने पनि उहाँले बताउनुभयो ।

वैठकमा संघका बरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसालले कोरोना महामारीले व्यवसायीहरु मारमा परेको बताउदै सामाजिक दुरी कायम गरेर सुरक्षित रुपमा आर्थिक गतिविधी बढाउन आवश्यक भएको बताउनुभयो ।

वैठकले लामो समयदेखिको लकडाउनका कारण व्यवसायी मारमा परेको भन्दै राहत प्याकेज तथा सेवा सुविधा सहितको बैंक व्याजदर छुटका लागि नेपाल उद्योग वाणिज्य महासंघका पहल गर्ने निर्णय गरेको छ ।

साथै वैठकले घरबहाल सुहिलियतका लागि सम्वन्धित घरधनीलाई आग्रह गर्ने निर्णय गरेको महासचिव लक्ष्मण अधिकारीले जानकारी दिनुभयो । वैठकमा नगर उपप्रमुख चक्रपाणी अर्याल, संघका पदाधिकारी, सल्लाहकार, कार्यसमिति सदस्य लगाएतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७ सोमबार ००:००  ६ : १७ बजे