८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

‘एसईई’ हुने दिन पर्खँदै विद्यार्थी, थाहा छैन हुन्छ कि हुँदैन ?



चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा ४ चार नम्बर निवासी स्नेहा पौडेल अहिले १० कक्षामा पढ्छिन् । रुपन्देहीको सैनामैनास्थित सालझण्डीमा रहेको पशुपति माविमा अध्धयनरत पौडेल विद्यालयकै अब्बल विद्यार्थी हुन् । तर, उनी अहिले निकै निरास छिन् । कोरोना महामारीको कारण मुखैमा आएको एसईई दिन नपाएर उनी सारै दुखि रहेछिन् । एसईई हुने दिन कुरेर बसेकी उनले अकस्मात् मलाई घरमै बोलाइन् ।

आइतबार तारम्तार उनले मलाई फोन गरी भनिन्, ‘अंकल अंकल छिटै आउनुस् न काम छ के !’ म पनि उनको बोली अस्विकार गर्न सकिनँ । गइहालेँ । म उनको घरमा जाँदा उनले एउटा प्लेकार्ड बनाइरहेकी थिइन् ।

म उनको घरमा पुगेँ । अंकल पख्नुस् है भन्दै उनी कम्युटरमा बसिन् । टाइप थालिन् । मलाई थाहा थिएन, उनले के गर्दै थिइन् ? एकैछिन्मा एक चिज प्रिन्ट गरिन् । र, प्रिन्ट गरेको सामग्री अगाडी देखाउँदै भनिन्, अंकल फोटो खिचिदिनुस् न ! अरु कुरा पछि गरौँला । स्नेहासंग अर्को स्कुल पढ्ने अर्की साथी पनि थिइन् । उनी पनि एसईईको दिन कुरेर बसेकी रहेछिन् । उनले पनि भनिन् ‘अंकल राम्रो फोटो खिच्नुस् है।’ मैले पनि फोटो लिई हालेँ । ए फोर साइज पेपरमा लेखिएको थियो ‘एसईई हुन्छ कि नाईँ ? यो देखेर म पनि दङ्ग परेँ ।

त्यसपछि स्नेहाले भनिन्, ‘अंकल हामी धेरै अन्यौलमा भयौँ । मजस्ता देशभर ४ लाख बढी धेरै साथीहरु एसईई दिदैछन, हुन्छ कि हुँदैन चिन्तामा हुनहुन्छ ।’ उनले भनिन्, लक डाउनको बेला बाहिर आन्दोलन गर्ने कुरो भएन । घरभित्रैबाटै भए पनि ‘सिम्बोलिक’ दबाब गरौँ भनेर यसो गरेको समाचार बनाई दिनुस है !

उनले भनिन्– “सुरुमा त सजिलै लियौँ । १५–२० दिनमा लक डाउन खुल्छ जस्तो लागेको थियो । तर आज ३ महिना हुन लाग्दा पनि लक डाउन खुल्ने छाँट देखिँदैन । कोरोना त तत्काल हट्छजस्तो लाग्दैन । लक डाउन कहिलेसम्म हुने हो । कम्तिमा पनि सरकारले एसईई हुन्छ कि हुन्न भन्न त सक्नु पर्यो नि अंकल । हामी कति दिन अन्यौलमा बस्ने ?”

एसईईमा ४ जिपिए ल्याउने गरी तयारी गरिरहेकी उनमा थोरैधेरै अंकमा भने कुनै मतलब रहेनछ । उनले भनिन्, ‘पढेको त ८० बर्षसम्म पनि बिर्सन्नँ म । एकपटक पढेपछि त्यो अलरेडी माइन्डमा सेट भइसक्यो । मेरो कन्र्सन अब एसईई हुन्छ, या हुँदैन भन्ने हो ।’ यो क्लियर नहुँदा हाम्रो भविष्य नै अन्धकार भएको छ, उनले भनिन् ।

कपिलवस्तुको बाणगंगा–२ पिपरामा रहेको जनता माविमा अध्ययनरत, एसईईकै पर्खाइमा रहेकी अनुस्का घिमिरेले भनिन्, ‘म त डिप्रेसनमा पर्न आँटे । पढेर बस्ने कि अरु काम गरेर ? एसईई हुन्छ कि हुँदैन ? भन्ने तनाव मात्र लाग्दछ ।’

एसईईमा ४ जिपिएको अपेक्षा गरेर बसेकी उनी अहिलेसम्म एसईई हुने छाँट नभएपछि सबै तयारी खेर जानेमा चिन्तित छिन् । कसैगरी एसईई भएन भने सरकारले भनेको आन्तरिक मुल्याङ्कनको आधारमा गरिने मान्यताले आफूजस्ता धेरै मिहिनेती विद्यार्थीलाई अन्याय हुने उनले बताउँछिन् । उनले अब लक डाउनमा सावधानी अपनाएर भए पनि एसईई गर्न दबाब दिनको लागि आफूले यो गरेको बताइन् ।

कपिलवस्तुका यी दुई विद्यार्थीले जुन ढंगले एउटा विम्बात्मक कार्य गरे त्यो जायज हो । उनीहरुजस्तै देशभर एसईई दिने तयारीमा रहेका ४ लाख बढी बिद्यार्थी यस्तै अवस्थामा छन् । मुलुकभरको शैक्षणिक गतिविधि यतिखेरसम्म सुचारु हुन सक्छ भनेर सरकारले खास धारणा दिन नसक्दा सबै अन्यौलमा छन् । अझ धेरै एसईई दिने विद्यार्थी, अभिभावक र विद्यालयका शिक्षकमा रहेको छ ।

हुन त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट वैकल्पिक प्रणालीको पठनपाठन सुरु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्यूनीकरण गर्न अपरिहार्य रहेको भन्दै विद्यालय जाने उमेर समूहका बालबालिकाको नियमित पठन–पाठनको सहज अवस्था सिर्जना गर्न दुर तथा खुल्ला शिक्षा लगायत बैकल्पिक प्रणालीबाट सिकाईमा सहजीकरण गर्न हालै मन्त्रालयले वैैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण गर्ने सम्बन्धि निर्देशिका २०७७ जारी गरेको जनाउनु भएको छ । तर एसईईको विषयमा मन्त्रालयले अझै धारणा बनाएको छैन । शिक्षा मन्त्रीको यो वक्तव्यले अन्य विद्यार्थीको मन त केही हदसम्म शान्त त बनाउला तर ती एसईई दिने तयारीमा रहेका विद्यार्थीलाई भने केही ढाढस दिन सकेन ।

‘एसईई खारेज गर्नु पर्छ, अब एसईई हुनुको तुक छैन’ भन्ने कतिपय र ‘समय छ, अझै पनि केही बिग्रेको छैन, जसरी पनि एसइइ गर्नु पर्छ” भन्ने अर्काथरीको धारणा मिडियामा आइरहँदा स्नेहा र अनुस्काजस्ता अन्य विद्यार्थी पनि चरम अन्यौल्मा छन् । विचरा ती अबोध विद्यार्थीहरुले के गरेर बस्ने ?

बाणगंगा माविबाट एसईई दिने दिनको औँला भाँचेर बसेका राजु अर्याल भन्छन्–“तयारी नगरौँ एसईई भइहाले के गर्ने ? गरौँ एसईई हुने छाँटकाँट देखिँदैन । हामीले के गर्ने ?”

यो विषयमा हामीले बुझ्दा एसईईकोबारे कुनै निकास पाएनौँ । राष्ट्रिय परीक्षा बोर्डले पनि शिक्षामन्त्रीकै मुख ताकेर बसेको देखिन्छ । बोर्डका एक जना सदस्यले भने, “हामी एसईईको भविष्यको बारेमा केही भन्न सक्दैनौँ । जे निर्णय हुन्छ । माथिबाटै हुन्छ । हामी आफ्नो निर्णय गर्ने अवस्थामा छैनौँ ।”

तर विद्यार्थी त अन्यौलमा परे नि ? भन्ने प्रश्नको उत्तरमा उनले भने, ‘यो हामीलाई पनि आएको दबाब हो । हामीलाई पनि एउटा निर्णय दिन पाए हुन्थ्यो भन्ने अवस्थामा छौँ । समस्या उब्जिएको छ । तर गर्ने के ?’

आइतबार शिक्षामन्त्रीले जारी गरेको वक्तब्यमा एसईईको बारेमा कुनै कुरा उल्लेख नभएको पाउँदा आफू पनि अचम्ममा परेको कालिका मानव ज्ञान मावि बुटवलका प्रधानाध्यापक घनश्याम पाठक बताउनु हुन्छ । विद्यार्थीलाई दिग्भ्रममा राख्ने काम शिक्षा मन्त्रालयले गरेको भन्दै उहाँले आक्रोश पोख्नुभयो ।

शिक्षा मन्त्रालय पनि लकडाउनको अवस्था र प्रकृति अनुसार निर्णय गर्ने तयारीमा छ । मन्त्रालयका एक जनाले भने, “एसईई नहुन पनि सक्छ । शिक्षाविद् तथा केही प्रधानाध्यापकले पनि यो सुझाव दिइरहनुभएको छ । जेठ ३२ गतेसम्म लक डाउन नै छ । विद्यार्थीलाई धैर्य रहन अनुरोध गर्दछु । राम्रो निर्णय आउने छ” उनले मायादेवीसंग भने ।

अभिभावकले पनि शिक्षा मन्त्रालयको भूमिकामाथि प्रश्न गरेका छन् । स्नेहाका अभिभावक कपिल पौडेलले शिक्षा मन्त्रालयले वक्तब्य जारी गर्दा कमसेकम एसईईको विषयमा त केही भन्नु पर्ने भन्दै आक्रोश पोख्नुभयो, ‘स्कुल खोल्ने कुरा, हावादारी ! इशारामा चल्ने सरकारले खै एसईईको बारेमा केही बोलेको ? उहाँले प्रश्न गर्नुभयो ।

यस्ता छन् जनप्रतिनिधि, बोल्ने कुरा बोल्दैनन् । एसईई के हुने त्यो पो बोल्नु पर्दछ । विद्यालयपठाउन कुरो गर्छन् शिक्षामन्त्री । साना साना नानीहरू संक्रमित भए उनीहरुको उपचार कसरी गर्ने ? रमिते सरकार पठाइँदैन स्कुल एक वर्ष नपढेर केही हुन्न, म त पठाउदिन, यस्तो बेलामा स्कुल बालबालिकालाई । तपाईं नि ? भनेर प्रश्न गर्नुभएको छ ।

कतिपय विज्ञहरु जेष्ठ महिना पनि सकिन लागिसकेकाले अब एसईई गर्नुका अर्थ नभएको बताउँदै यस सम्बन्धि विशेष व्यवस्था गर्न सरकारसंग माग गर्न थालेका छन् ।

कोरोनाको कारणलाई देखाएर एसईईबारे बोल्न नसकी मुखमा भोटे ताल्चा लगाएर बस्ने सरकारको भूमिका पटक्कै राम्रो छैन । अब छिटो निर्णय गरेर यस विषयमा सरकार बोल्नै पर्दछ । २०७६ चैत्र ५ गते एसईई हुने भनिए पनि कोरोनाको कारण अन्तिम समयमा आएर स्थगित भएको थियो । यस वर्ष करिब ५ लाख भन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिने तयारीमा छन् ।

यता कपिलवस्तुबाट ७ हजार ४ सय ७२ विद्यार्थी सहभागी हुँदै छन् । जिल्लाका ७७ सामुदायिक विद्यालय, ४८ संस्थागत विद्यालय र एउटा खुल्ला विद्यालय गरी कुल १ सय २६ विद्यालयका विद्यार्थीहरुले नियमित, ग्रेड वृद्धि, प्राविधिक र खुला तर्फ परीक्षा दिने दिन कुरेर बसेको शिक्षा इकाई कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७ सोमबार ००:००  ११ : ४१ बजे