१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

‘कथा’-सिंहदरबार इतिवृतान्त



देवेन्द्र पौडेल ।
साँझ पर्दै थियो । म बस्ने घरको बाटो हुँदै एक हुल मान्छेहरु सिंहदरबारतर्फ लाग्दै थिए । उनीहरुको लवज, भाषा, भेषभूषा पनि फरक फरक थियो । वृद्ध, केटाकेटी, तन्नेरी, अपाङ्ग, सुत्केरी सबै थिए हुलभित्र । सरकार, पुलिस, प्रशासन कसैले देखेनछ यहाँसम्म आइपुग्दा, हुन त रोग, भोक र शोकले थलिएर सहरबाट गाउँ पस्दा वा गाउँबाट सहर पस्दा उनीहरुलाई देख्ने नै को छ र ? केहीबेर उनीहरु सिंहदरबार नजिकैको चोकमा सुस्ताए ।

लकडाउनसँग विद्रोह गरेर म औषधी किनेर फर्कदै थिएँ । यी सन्ध्याकालीन यात्रीहरु यतिबेला कहाँ जान लागेका हुन्, जान्न मन लाग्यो र सोधेँ, यहाँहरु कहाँसम्म जाने ? सबैको एउटै जवाफ थियो, सिंहदरबार जान लागेको । हामी सिंहदरबारसँग चिनिन चाहन्छौँ । हामीले सिंहदरबारको चिना बनाएर ल्याएका छौँ । हाम्रो भाग्य नसप्रिनुका कारणहरु बोकेर आएका छौँ । यो सुम्पन चाहन्छौँ । म अचम्ममा परेँ । केही महिना पहिले पनि मैले यस्तै कुरा मिडियामार्फत सुनेको थिएँ । सिंहदरबारले सधैँ हाम्रो भोट चिन्यो तर हामीलाई सिंहदरबारले विपत्मा पनि चिनेन भन्दै यस्तै हजारौँ भोका पेटका लस्करहरुले तातो सडक नापेका थिए । आज त प्रत्यक्ष देख्ने र सुन्ने मौका पाएँ । मैले भने, यतिबेला सिंहदरबारभित्र गएर कसैलाई भेट्न सक्नुहोला र ? पीडा, आक्रोश र रोदनमिश्रित स्वरमाउनीहरु भन्दै थिए, सिंहदरबारमा हामी यतिबेला कसैलाइ भेट्न र उधारो आश्वासन लिन जाँदै छैनौ, सिंहदरबारको प्रवृत्ति भत्काउन जाँदैछौँ, त्यहाँ भित्र गएर सिंहदरबारको चिना टाँस्न चाहन्छौँ । सिंहदरबार, सिंहहरुकै दरबार बन्यो । मान्छेको बुख्याँचा लगाएर सयौँ वर्ष बसिरह्यो । हामी यसको वास्तविक अनुहार उदाङ्गो पार्न चाहन्छौँ । सिंहदरबारमा विभिन्न नामका पसल थापिएका छन् । सिंहदरबार सपिङ मल बनेको छ । यहाँ बेलाबेलामा फिलिमहरु देखाइन्छ । बेमौसमी नाटकहरु मञ्चन गरिन्छन् । त्यसको पर्दाफास गर्न चाहन्छौँ ।

मञ्चनकै कुरा हुँदै थियो । जाली ट्रक आएर झ्याप्प रोकियो । सिंहदरबारका संरक्षकहरुले युद्ध गतिमा ती मान्छेलाई गाडीमा उठाए । मलाई पनि हेर्दै थिए तर हातमा औषधिको झोला देखे अनि पछि हटे । गाडी हनुमान ढोकातिर सुइँकियो । यो नाटक मिनेटभरमै सकिएको थियो । उनीहरुको एउटा झोला त्यहीँ छुट्यो वा उनीहरुले आफुले जानेर नै त्यहीँ छोडे, थाहा भएन । यसो खोलेर हेरेँ, १७० वर्षे सिंहदरबार लेखिएका फरक फरक चिनाहरु भेटेँ । चन्द्र शमशेरले १९०८ मा बनाएको सिंहदरबारबारे जान्न मन लाग्यो । आँट गरेर झोला उठाएँ र हतार हतार निवासतर्फ लागिहालेँ ।

घरमा गएर खाना खाई झोला फुकाएँ । एउटा चिनामा लेखिएको थियो, सिंहहरुबाहेक अरुलाई सहजै प्रवेश नदिने तेरो दरबारमा आज हामी पस्ने कोसिस गर्नेछौँ । सिंहदरबार, तैँले जहिले पनि न्यायको शासनका नाममा अन्यायको खेती गर्छस् । सदाचारका नाममा बलात्कार गरिरहन्छस् । वर्गीयता र जातीयताका नाममा अपराध गरिरहन्छस् । राहतका नाममा आहत र सुशासनका नाममा भ्रष्टाचार गरिरहन्छस् । आखिर यो कहिले सम्म गरिरहन्छस् ?

अर्कोमा भनिएको थियो, के तपाईले गएर सिंहदरबारसित कहिल्यै बास माग्नु भएको छ ? तर तपाईँ विशेष कामले भित्र छिर्न खोज्नु भयो भने पनि पास मागि रहन्छ । बुझ्नुस अब, त्यहाँ सिंहका विभिन्न प्रजातिको बसोबास छ, धन्दा छ, व्यापार छ, व्यवसाय छ । त्यहाँ हिजोका दिनमा हात्ती छाप चप्पल लगाएर भोट माग्न आएकाहरु नचिनिन्ने भएर बसेका छन् । त्यहाँका चौपारी र डबलीहरु कमिसन र व्यापारिक बहस गर्ने थला बनेका छन् । सिंहदरबारको सपिङ मलमा भोका पेटहरुलाई प्रवेश निषेध छ । त्यहाँ सुनको डकार गर्नेहरु बस्छन् । दुई तिहाईको अहङ्कार गर्नेहरु सल्बलाउँछन् । सिंहका पाठाहरु बाहेक अरुको अस्तित्वलाई स्वीकार गरिँदैन । अचम्म के छ भने सिंहदरबारभित्र ठाउँठाउँमा मनमोहक फूलबारीहरु छन् । झपक्कै सदावहार पूmलहरु फुलेका छन् तर यहाँ मौरीहरु डुल्दैनन्, सुरुसुरुमा यहाँ हजुरियाहरु डुल्थे, पछि मण्डलेहरुको हालीमुहाली रह्यो, अहिले सलहजस्तै अरिङ्गालहरु डुल्छन् । त्यहाँ बेलामौकामा सिंहहरु गर्जेको सुन्ने र देख्ने ठाउँ छ । त्यहाँ गएर कहिल्यै कुनै चरोमुसो बोलिहाल्यो भने बोल्ने र बोल्न दिनेहरु सिंहको झम्टाइमा पर्दछन् । सिंहबाट जोगिइ हाले पनि त्यहाँ चौतारी बनाइएका मसलाका बोटहरुमा गोलो बनाइ बसेका अरिङ्गालबाट जोगिन गाह्रो पर्दछ । त्यहाँ अरिङ्गालहरुमात्र स्वच्छन्द तरिकाले भुनभुनाइ रहन्छन् ।

चिनाहरु हेर्दै गएँ, बुझेजति पढ्दै गएँ । हाल सिंहदरबारको सपिङ मल कुनै विकसित देशको सुपरमार्केट भन्दा कम छैन । त्यहाँ हरेक वस्तुका छुट्टाछुट्टै भण्डारहरु रहेका छन् । महंगा गाडी, वाइड बोडी, सुन भण्डार, गुठी र राजनैतिक दल लगायत दर्जनौँ अध्यादेश भण्डार, अपहरण भण्डार, कोरोना स्वास्थ्यसम्बन्धी सामान खरिद भण्डार, बालुवाटार जग्गा भण्डार, ७० करोडको खेल भण्डार जस्तै अनेक अनेक भण्डारहरु रहेका छन् । त्यहाँका सिंहहरु ज्याद्रा छन् । बेलाबेलामा काण्डैकाण्ड मच्चाइ रहन्छन् । वरिपरि कसैलाई सुत्नै दिँदैनन् । त्यस्ता काण्डमा चित्त नबुझ्नेहरु मण्डलामा जम्मा हुन्छन् । त्यहाँ जम्मा भएका दुईचार जनासँग पनि असाध्यै डराउँछ सिंहदरबार । मण्डलामा हल्ला बढ्दा बालुवाटारमा गएर मस्तसँग कुम्भकर्णजस्तै सुत्छ सिंहदरबार । त्यसबेला कसैले सिंहदरबारको नाकैमुनि आफ्नो बाटो बनाउँछ, थाहै पाउँदैन सिंहदरबार । भोका पेटको भाषा, अभाव र रोगका चित्कार, महामारीमा आफ्नै थलो फर्कन चाहनेका आर्तनाद सुन्दैन, देख्दैन र बुझ्दैन सिंहदरबारले । बाँचुन्जेल वास्ता गर्दैन, पानी पनि खान नपाएर मरेपछि मात्रै परीक्षण गर्छ र हप्तौँ रिपोर्ट दिँदैन सिंहदरबारले । क्वारेनटाइन नामका अभाव गृह अत्यास लाग्दा बन्न पुगेका छन्, महिनाको एकदुई पटक आश्वासन बाँड्छ । सिंहदरबारले चारमुखे सिंहका विवादास्पद कुरा गर्दछ, तर महामारीमा रहेका एकजनाकोपनि मुख हेर्दैन । मार्सी चामल फलाउने र उनीहरुका सन्तानले सहज रुपले डाक्टरी पढाउने कुरालाई हेर्दैन, खुवाउनेलाई हेर्छ , खुवाउनेकै हितमा काम गर्छ । सिंहदरबारको राष्टवाद पनि गजबको छ । देशका सम्पूर्ण जातिप्रजातिहरुमा प्रेम बाँड्दैन, अभैm भूगोल आफ्नो बन्न नसकेको उधारो नक्साको आकर्षक फ्रेम बाँड्दै हिंड्छ सिंहदरबारले । दैलोदैलोमा फ्रेम राष्टवादको होम डेलीभरी गर्दछ ।

सिंहदरबारले समय समयमा बेमौसमी बाजा बजाई हाम्रो निद्रा बिगारेको छ । सिंहदरबारले सधैँ हामीप्रति पूर्वाग्रह राखेको छ । मरेपछि मात्र रोग थाहा पाउने यन्त्र राखेको छ । जिउँदै हुँदा पनि पटक पटक मारेको छ । सिंहदरबार बाहिर सयौँ ज्यान थला पर्दैछन्, कति त कहिल्यै नउठ्ने गरी ढल्दैछन्, गणितमा अब्बल सिंहदरबार संख्या जोडेर बसेको छ । कोरोना उपचारको किट दिँदैन, टिठ पनि गर्दैन । महामारीका कारण भएको मृत्युलाई स्वीकार गर्न अन्कनाउँछ तर हाउगुजी देखाउँछ र लकडाउन थपिरहन्छ । मृदु भाषा बोल्न अरुलाई नैतिक शिक्षा दिन्छ, आफैँ असमवेदनायुक्त भाषाको खेती गर्छ । सिंहदरबारले कैयौँ मानार्थ विद्यावारिधि गरेको छ त्यसै भएर त कहीँ कतै श्रद्धाञ्जली पठाउनु पर्नेमा बधाई पठाउँछ । न्यायको तराजु सिंहदरबारको आडैमा छ तर सिंहदरबारले आफैँलाई न्यायकर्ता बनाउन कोसिस गर्छ । वर्षौपछि महाकाली सम्झौतामा गल्ती थियो भनी स्वीकार गर्छ र पनि फेरि एमसिसिलाई चोरबाटोबाट छिराउन खोज्छ । चुनावका बेला सिंहदरबारले किरियापुत्रीलाई पनि मतदान केन्द्रसम्म बोक्छ, विपतका बेला आमाकोे किरिया गर्न आउनेलाई रोक्छ । अहिले सिंहदरबारले दुईचार थान बाटो बनाएको छ, पानीजहाज कार्यालय स्थापना गरेको छ । करोडौँका गाडी र अरबका हेलीकप्टर किनेको छ । त्यसैलाई सर्वस्व ठानेको छ ।

त्यसपछि सिंहदरबारको अन्तिम चिना खोलेँ । त्यहाँ लेखिएको थियो, सिंहदरबारलाई आजभोलि झ्वाट्ट चिन्न सकिदैँन । कोरोनाका कारण मुखौटो लगाएको छ । यो मुखौटोले उसको विभेद र गैरजिम्मेवारपूर्ण अनुहार छोप्न सजिलो बनाएको छ । सिंहदरबारले पूर्वी ढोकाको प्रयोग कम गर्दछ, दक्षिण र पश्चिमी ढोकाको बढी प्रयोग गर्दछ, किनभने पूर्व त नयाँ विहानीको संकेत हो, पूर्वीय ज्ञान, चेतना र सभ्यताको उज्यालो हो । त्यसैले त सिंहदरबारलाई दिनन्धो रोग पनि लागेको छ, दिउँसोमा पनि केही देख्दैन । लकडाउनका बेला सामाखुसीबाट ठेलामा श्रीमतीलाई राखेर डायलासिस गर्न जाने जोसुकै होऊन्, वा कीर्तिपूरका डाँडामा भोकै हिंड्दा सधैका लागि अस्ताएका भरिया होऊन्, सिंहदरबारलाई के चासो ? काठमाडौको मुटुमा छ सिंहदरबार तर सिंहदरबारको मुटु छैन । विपत्को पूर्व तयारी कहिल्यै गरेन । विपतलाई टुलुटुलु हेर्दै कविता र गीत लेख्छ सिंहदरबार। आफैँ जनताको रगत पसिनालाई विभिन्न शीर्षकमा लुट्छ अनि अरुले लेखेका प्रतिक्रिया गीतमाथि प्रतिबन्ध लगाउँछ ।

बोधार्थ
बालुवाटार दरबार, खुमलटार दरबार, बुढानिलकण्ठ दरबार, संसद दरबार र अन्य भुरेटाकुरे दरबारहरु ।

सबै चिना पढेपछि म एकछिन विस्मयका भावले टोलाइ रहेँ । कस्तो चिना लेखेका रहेछन् । बोधार्थसहितको नवीन ढाँचा र शैली । जनताका लागि सिंहदरबार सधैँ राहु र केतु मात्रै । कहिल्यै चन्द्रमा र वृहस्पति उच्च स्थानमा रहन नसकेको ।

मैले एक गिलास तातो पानी पिएँ । अघि भेट हुँदा चामल बेचेर खालि पेट खाने औषधी किनेका छौँ भन्दै थिए, उनीहरुले त्यही औषधी निल्न चिसो पानी पनि भेटाए कि नाइँ ?

एक हप्ता भयो उनीहरु कहाँ छन्, मलाई थाहा छैन तर गणतन्त्र दिवसको सेरोफेरोमा उनीहरुले सिंहदरबारमा पु¥याउन नसकेको महत्वपूर्ण सामाग्री यहाँको लोकप्रिय मिडियामार्फत सार्वजनिक गर्दैछु ।

लेखक पौडेल कपिलवस्तु निवासी हुनुहुन्छ । उहाँ हाल काठमाडौंमा अध्यापन पेशामा संलग्न हुनुहुन्छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७ शुक्रबार ००:००  ९ : ४२ बजे