सन्तोष रेग्मी ।
अहिले कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट विश्व गुज्रिरहेको छ । हाम्रा सबै नियमित सामाजिक, आर्थिक गतिविधि, अत्यावश्यक बाहेकका सबै ठप्प छन् । यस महाविपत्तीबाट जोगिन नेपाल सरकारले गत चैत्र महिनाको दोस्रो हप्तादेखि लकडाउन लगाएको छ । हाल हामी लकडाउनको ६६ औं दिनमा छौं ।
लकडाइनको सुरुवाती दिनहरूमा जब महामारीले विश्व आतङ्कित थियो । हाम्रो मनमा डर रहे पनि नेपालमा खासै संक्रमित नदेखिएकाले एक किसिमले त्यति भयवित थिएनौं । तर, पछिल्लो समय केही हप्ता यता भारतमा रोजगारका लागि जानेहरु लुकीछीपी सीमा नाकाबाट नेपाल प्रबेश गर्नेक्रम रहेको एवंम परिक्षणको दायरा पनि केही फराकिलो बनाइएको हुनाले संक्रमितहरुको संख्या बढेर करिब ६ सयको आसपासमा पुगेको छ ।
हाल कोरोना भाइरसको संक्रमण सातै प्रदेशका करिब ४५ जिल्लामा फैलिएको छ । अब कुरा गरौं कपिलवस्तुको । कपिलवस्तुमा गत बैशाख २५ गते सीमाबाट लुकीछीपि प्रबेश गरेका मायादेवी गाउँपालिकाका दुई जनामा संक्रमण पुष्टि भयो । जस लगत्तै राहतमा केन्द्रित स्थानीय तह, विभिन्न संघ सस्थामा अब के गर्ने ? के नगर्ने ? भन्ने खालको अन्यौलता देखियो भने लकडाउनले अत्यास भैरहेका जिल्लावासीमा मानसिक रुपमै डर पैदा भयो । किनकि यो जिल्लामै संक्रमणको पहिलो केस थियो ।
त्यसैगरी बैशाख २७ गते ३ जनामा, बैशाख २९ मा १० जनालाई संक्रमण पुष्ठि भयो । जसबाट समग्र जिल्लामै भयवित अवस्थाको सिर्जना भयो । त्यति बेला एकैपटक १० जनामा संक्रमण पुष्टि हुनु ठूलो संख्या थियो । लगत्तै जिल्ला प्रशासन कार्यलयले संकमण फैलिनबाट रोक्न बैशाख २९ देखि जेठ ५ गतेसम्म पुरा जिल्लालाई नै सिल गर्यो, जुन बढाएर जेठ २० सम्म पुर्याइएको छ ।
भारतीय सिमासंग जोडिएको जिल्ला हुनाले सीमानाबाट आउने क्रम रोकिएको छैन । कुनै कुनै स्थानीय तहले भने आफ्ना स्थानीय तहका बासिन्दालाई उद्घार गरेर क्वारेन्टाइनमा राखिरहेका छन् ।
सीमामा अड्किएका ठूलो समूहलाई ल्याउन संघीय राज्यले नै कुनै ठोस निर्णय नगरेकाले भोलि हुन सक्ने सम्भावित दुर्घटनाले जिल्ला त्यसै आक्रान्त बनेको छ । यो हाम्रो जिल्ला मात्र भै सिंगो राज्य कै समस्याको विषय बनेको छ । हामी सीमासंग जोडिएको जिल्लावासी भएको हुनाले अलिक बढी त्रसित हुनु स्वाभाविक हो ।
जिल्लामा लुकीछीपि आउनेक्रम जारी रहनु, अव्यवस्थित क्वारेन्टाइन, सामाजिक दुरी कायम राख्न नसक्दा भाइरस समुदाय मै फैलिएको अनुमान लगाउन सकिन्छ । जसका कारण जिल्लामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी एंव जनप्रतिनिधि पनि संक्रमित भएका छन् ।
हाल जिल्लामा क्वारेन्टाइनमा बस्ने कति छन् ? परिक्षण कति भए भन्ने कुराको यकिन छैन किन कि क्वारेन्टाइनमा बस्नेहरुको संख्या दिनानुदिन बढ्दो रहेको समाचार आइरहेको छ ।
यस महामारीको अग्रपंक्तिमा रहेर काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी एवं जनप्रतिनिधिमा पनि संक्रमण पुष्टि भएसंगै, समुदायमा थप डर र भएको अवस्था सिर्जना भएको छ । किनकि उनीहरु सधै समुदायसंगको सम्पर्कमा रहिरहने प्रतिनिधिहरु हुन् ।
त्यसैले यो भए र त्रासबाट समुदायलाई छिटो मुक्ति दिलाउन उनीहरुको ट्राभल हिस्ट्री खोज्दै समुदायमै गएर परिक्षण गर्नु पर्ने देखिएको छ । किनकि यो भएको अवस्थाले कोरोना संक्रमण त होला नहोला तर अन्य मानसिक एंव समाजिक समस्याको सिर्जना हुनेमा दुई मत छैन ।
अतः तीनै तहका सरकारको समन्वयमा सीमानामा अलपत्रहरुको उद्घारमा समन्वय, जिल्लाका क्वारेन्टाइनको व्यवस्थापन, व्यापक परिक्षण, प्रयाप्त आइसोलेशनको व्यवस्था गरी जिल्लामा हुन सक्ने थप जोखिमलाई रोक्न सकिन्छ । जसले हामी जिल्लावासीको त्रासलाई कम गर्न मद्धत पुगोस ।
रेग्मी वाणगंगा नगरपालिका ११ बासी हुनुहुन्छ ।
प्रतिक्रिया