९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मनकामना सामुदायिक बनले बाल माविको क्वारेन्टाइनलाई पलाङ्ग सहयोग गर्‍यो



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाको बैरियामा रहेको बाल मा.विको क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुको लागि सहज बनाउन सामुदायिक बनले पलाङ्ग उपलब्ध गराएको छ । वाणगंगा नगरपालिका वडा नम्बर १ ले बनाएको क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिको सुविधाको लागि सामुदायिक बनले सुत्ने पलाङ्ग उपलब्ध गराएको हो ।

मनकामना सामुदायिक बन उपभोक्ता समितिले आफनो वडा भित्र रहेको क्वारेन्टाइनलाई व्यवस्थित बनाउन सहयोग गरेको जनाएको छ । सामुदायिक बनका अध्यक्ष अमित पौडेलले क्वारेन्टाइनको आवश्यकताको आधारमा माग भए वमोजिम तत्कालका लागि आफनै श्रोत साधनबाट पलाङ्ग सहयोग गरिएको बताउनुभयो ।

पलाङ्ग हस्तान्तरण पछि वडा अध्यक्ष बालकुमारी पन्थले क्वारेन्टाइनमा बस्ने आफना वडावासीलाई विभिन्न निकायसंग समन्वय र सहकार्य गरेर सहयोग जुटाइरहेको बताउनुभयो । उहाँले क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुको संख्या बढ्दै गएकाले अझ सहयोगको खाँचो रहेको जानकारी दिनुभयो ।

बाल मा.वि. क्वारेन्टाइनमा हालसम्म ९ जना बसिसकेका छन् । त्यसमध्ये ६ जना भारतबाट आएका हुन् । ३ जना भने क्रिमशन अस्पतालमा उपचार गर्न गएका बेला अस्पतालमा कोरोना संक्रमित भेटिएपछि त्यसको आशंकामा क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको ७ दिनपछि आरडिटी चेकजाँचमा नेगेटिभ आएपछि घर फर्किएको वडा अध्यक्ष बालकुमारी पन्तले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य विष्णु पन्थी, नगर प्रवक्ता विष्णु प्रसाद पौडेल, वडा अध्यक्ष बालकुमारी पन्त, विद्यालयका प्रद्यानाध्यापक अर्जुन शाही, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, समाजसेवी शंकर पाण्डे, डोलकराम घिमिरे, नगर कार्यपालिका सदस्य कृष्ण विक, सामुदायिक बनका पदाधिकारी लगाएतको सहभागीता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष डोलकराम घिमिरेले क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको व्यवस्थापनमा खटिएको बताउदै उनीहरुको सुविधाका लागि आफु लागिरहेको बताउनुभयो ।

सामुदायिक बनले हाललाई वाणगंगा नगरपालिका वडा नम्बर १ र २ का लागि २० वटा पलाङ्ग उपलब्ध गराएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७ बुधबार ००:००  ५ : ५० बजे