काठमाडौं ।
बिहीबार दिउँसो सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेट प्रस्तुत गर्दैछ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार दिउँसो ४ बजे बजेट भाषण गर्दैछन् ।
४ बजे बजेट भाषण सुरु हुने भएकाले त्यस अगाडि नै बैठक कक्षमा प्रवेश गर्न सभामुख अग्निप्रसाद सापकोटाले दुवै सदनका सदस्यलाई अनुरोध गरेका छन् । बजेट भाषण लगत्तै प्रतिनिधि सभाको अर्को बैठक बिहिवार साँझ ६ बजे बस्ने छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा यही जेठ १० गते रुकुमपश्चिममा भएको हत्याको घटनाका विषयमा आवाज उठाउँदै सर्वदलीय छानबिनको माग गरेका छन् ।
बैठकको शून्य समयमा सांसदले सो घटनालाई राजनीतिकरण नगर्न र मृतकलाई सामाजिक शहीद घोषणा गर्न पनि माग गरेका हुन । सांसद मीन विश्वकर्माले स्थानीय प्रशासन र प्रहरीको लापर्वाहीले घटना भएको आरोप लगाए ।
सांसद विमला नेपालीले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा भएको घटनामा मृत्यु भएकालाई सामाजिक शहीद घोषणा गरी घटनाको संसदीय छानविन गर्न माग गरेकी छन् ।
सांसद मनकुमारी जिसीले रुकुमपश्चिमको घटना पुनः दोहोरिन नदिन आग्रह गरिन् सांसद महिन्द्रकुमारी लिम्बू रुकुमपश्चिमको घटनाको छानविनका लागि सर्वदलीय समिति गठन गर्न माग गरे ।
सांसद यशोदा सुवेदी गुरुङले घटनालाई राजनीतिकरण नगर्न माग गरिन् । सांसद लक्ष्मी परियारले रुकुमपश्चिममा भएको जातीय विभेद र नरसंहारको घटनामा संविधान र कानूनको किन प्रभावकारी कार्यान्वयन भएन भनी प्रश्न गरेकी थिइन् ।
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्याको घटना भएको थियो ।
मृतक नवराजको शव भेरी नदीमा भेटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य दुईजनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा अन्य तीनजना बेपत्ता छन् ।
प्रतिक्रिया