९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

देशमा आजः मायादेवी अनलाइनमा प्रकाशित मुख्य मुख्य समाचार



मायादेवी अनलाइन, समाचार डेस्क ।
मायादेवी अनलाइनमा मंगलबार (आज) पनि दर्जनौं समाचार प्रकाशित भए । प्रदेश ५ को कपिलवस्तुस्थित मुख्य कार्यालय रहेको यस अनलाइनले मंगलबार प्रकाशन गरेका मुख्य मुख्य समाचार एकै क्लिकमा पढ्नुहोस । हामीले घटनालाई मुख्य आधार मानेर दिनभर अनलाइनमा प्रकाशित समाचार छनौट गरी यहाँ राखेका छौं । जुन आम पाठकका चासोका विषय हुन भन्ने विश्वास छ ।

मुलुकभर कोरोना संक्रमितको संख्या ७ सय ७२ पुग्यो

नेपालमा मंगलबार ९० कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार महत्तरीका २, बारामा कार्यरत जुम्लाका २, बाराका ३, रौतहटका २२, कपिलवस्तुमा २६, सिरहाका ५, धनुषाका १, बाँकेका ८, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ जना कोरोना संक्रमित थपिएका हुन् । संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७७२ पुगेको छ । तीमध्ये अहिलेसम्म ४ जनाको मृत्यु भएको छ । १५५ जना संक्रमित निको भएर घर फर्किएका छन् । पछिल्लो समय नेपालमा दैनिक कोरोनाको संक्रमण वृद्धि बढेको छ ।

प्रदेश ५ मा पुगे ३ सय ३० जना कोरोना संक्रमित

प्रदेश ५ मा कोरोना भाइरस संक्रमितको संख्या ३ सय ३० जना पुगेको छ । मंगलबार देशभर ९० जना नयाँ संक्रमित थपिंदा प्रदेश ५ मा मात्रै ३२ जना नयाँ संक्रमित थपिएका छन् । ३२ जनामध्ये २४ जना कपिलवस्तुका र ८ जना बाँकेका हुन् । प्रदेश जनस्वास्थ्य निर्देशनलायका तथ्यांक अधिकृत मनबहादुर वलीका अनुसार कपिलवस्तुका संक्रमितको स्वाबको पीसीआर परीक्षण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा र बाँकेका संक्रमितको स्वाबको परीक्षण भेरी अस्पतालको प्रयोगशालामा भएको हो । आज साँझसम्मको अद्यावधिक अनुसार बाँके जिल्लामा १ सय ५४ जना, कपिलवस्तु जिल्लामा १ सय ९ जना, रुपन्देही जिल्लामा ४४ जना, नवलपरासी पश्चिममा ५ जना, बर्दिया जिल्लामा ७ जना, दाङ जिल्लामा ५ जना, गुल्मी जिल्लामा ४ जना र अर्घाखाँचीमा २ जनामा संक्रमण भएको पुष्टि भएको छ । गुल्मीमा भेटिएका एकजना भने दाङका स्थायी बासिन्दा हुन् ।

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १ सय ९, यशोधरामा आज भेटिए २४ जना

कपिलवस्तुमा थप २४ जना कोरोना संक्रमित थपिएका छन । राप्ती विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा उनीहरुलाई कोरोना देखिएको हो । जिल्लाको भारतीय सिमावर्ती यशोधरा गाउँपालिकामा २४ जना संक्रमित थपिएका हुन् । संक्रमित थपिनेहरुमा वडा नं. १, २ र ८ का रहेका छन । जसमा दुई बर्षीया बालिका रहेकी छिन । यस्तै अरु १९ बर्ष देखि ५५ बर्षका पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । यिनीहरुको अनिरुद्ध माध्यमिकमा नमुना परिक्षण गरिएको थियो । यशोधरा गाउँपालिकामा यसभन्दा अगाडी १२ जना संक्रमित भएकोमा आज २४ थपिएसंगै त्यहाँ संक्रमितको संख्या ३६ पुगेको छ । मंगलबार र सोमबार साँझ गरी २६ जना संक्रमित थपिएसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ । जसमा ११ जना निको भएर घर फर्किसकेका छन ।

अर्घाखाँचीका कोरोना संक्रमित दाङ लगिएन

अर्घाखाँचीमा पहिलो पटक सोमबार भेटिएका दुई जना कोरोना संक्रमितलाई दाङ नलगिने भएको छ । मंगलबार दिउँसो सर्वपक्षीय बैठक बसी यस्तो निर्णय भएको हो । जिल्ला प्रशासन कार्यलयमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा राजनीतिक दलका प्रमुख, स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुखहरूको सर्वपक्षीय बसेको बैठकले फेला परेका कोरना संक्रमितलाई सन्धिखर्क १ मा रहेको युवाबर्ष रबिचित्र माविमा आइसोलेशन निर्माण गरी उपचार गर्ने निर्णय गरेको हो । मंगलबार बिहान संक्रमितलाई दाङको कोरोना अस्पतालमा पठाउन तयार गरिएको भनिएता पनि दिउँसो सर्वपक्षिय बैठकले दाङ नपठाउने निर्णय गरेको छ । सोमबार जिल्लाको पाणीनी ८ कमला माबिमा क्वारेन्टाइनमा बसेका १९ र ४३ बर्षीय पुरूषमा कोरोना संक्रमित भएको पुष्टि भएको छ । उनीहरू अहिले पनि गाउँकै क्वारेन्टाइनमा रहेका छन् । उनीहरू जेठ २ गते पैतल हिड्दै भारतबाट आएका थिए ।

घोराही ९ को गुरैयाँ टोललाई सिल गरियो

घोराही ९ भगुवार गाउँका एक युवकलाई काठमाडौँमा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएपछि भगुवारको गुरैयाँ टोललाई शिल गरिएको छ । काठमाडौंस्थित एक अपार्टमेन्टमा सुरक्षा गार्डको काम गर्दै आएका ती युवकलाई दाङमै संक्रमण भएको आशंकामा उनको घर भएको टोल शिल गरिएको हो । गत चैत १० हजुरआमाको शुद्धशान्तिका लागि घर आएका उनी वैशाख ३१ गते काठमाडौं फर्किएका थिए । काममा जाने क्रममा अपार्टमेन्टले जेठ ४ गते उनको स्वास्थ्य जाँच गराएपछि उनमा कोरोना पुष्टि भएको वडा अध्यक्ष मानबहादुर बस्नेतले जानकारी दिनुभयो । उनी फुपुको छोराले चलाउने एम्बुलेन्समा काठमाण्डौ गएका थिए । उनीसँगै काठमाण्डौ गएका एम्बुलेन्स चालक, एक महिला र बच्चामा संक्रमण नदेखिएपछि दाङमै संक्रमण भएको हुन सक्ने उहाले बताउनुभयो । यद्यपि ती व्यक्तिलाई कसरी र कहाँबाट संक्रमण भयो भन्ने बारेमा केही खुलेको छैन ।

स्याङ्जामा पहिलोपटक दुई जनामा कोरोना देखियो

भारतबाट आएका स्याङ्जा वालिङका दुई जना युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । ६ दिनअघि नयाँदिल्लीबाट आएका उनीहरूको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । संक्रमित दुबै जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा लगिएको छ । स्याङ्जामा यसअघि संक्रमण भेटिएको थिएन । संक्रमित देखिएका दुबै युवकलाई भारतबाट आउनुबित्तिकै सिधै क्वारेन्टिनमा राखिएको वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँणले जानकारी दिनुभयो ।

क्वारेनटाइनबाट भागेका पुनः फर्काइए

कपिलवस्तु नगरपालिका वडा नं. ४ मलपरवास्थित सुन्दर प्राथमिक विद्यालयबाट भागेर घर गएका पुनः क्वारेनटाइनमा फर्काइएका छन । सोमबार राति साढे ९ बजे भागेका ४२ जनालाई आज (मंगलबार) बिहान ५ बजेसम्म फर्काएर ल्याई क्वारेन्टाइनै राखिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो । १४ दिनसम्म पनि कोरोना परीक्षणको रिपोर्ट नआएपछि आक्रोशित हुँदै क्वारेन्टाइन छाडेर घर गएका थिए । क्वारेनटाइनमा बसेका उनीहरुको रिपोर्ट आएपछि नेगेटिभ रिपोर्ट भएकालाई मात्रै घर जान दिइने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । रिपोर्ट केहि दिनमा आउने उहाँले बताउनुभयो । यसभन्दा अगाडी जिल्लाको यशोधरा गाउँपालिकाका क्वारेनटाइनमा बसेका ४५ जना भागेका थिए । उनीहरुलाई दुई दिनपछि घरघरबाट फर्काएर पुनः क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनहरुमा मापदण्ड अनुसारका सुविधा नभएका र समयमा चेकजाँच नभएको भन्दै जनस्तरबाट समेत असन्तुष्टि बढ्न थालेको छ ।

नेपालमा ५ हजार जनालाई कोरोना सङ्क्रमण हुने नयाँ प्रक्षेपण

नेपालमा कोरोनाभाइरस सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या ५,००० सम्म पुग्ने नयाँ अनुमान गर्दै त्यसअनुसार आवश्यक स्वास्थ्य सामग्रीको खरिद प्रक्रिया अगाडि बढाइएको अधिकारीहरूले बताएका छन् । यो खबर बीबीसी नेपालीबाट लिएका हौं । उनीहरूका अनुसार कोरोनाभाइरस परीक्षणका लागि अत्यावश्यक सामग्रीको बोलपत्र आह्वान गरिसकिएको छ । कोरोनाभाइरस नियन्त्रणका लागि खटिएको जनशक्तिका लागि आवश्यक हुने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, पन्जा जस्ता सामान खरिदका लागि स्वीकृति दिइसकिएको छ । अहिलेसम्म ५०,००० भन्दा बढी नमुनाको पीसीआर विधिबाट परीक्षण भएको छ । सरकारसँग अहिले उपलब्ध सामग्रीले थप ५०,००० वटा नमुनाको मात्र परीक्षण गर्न सकिने बताइएको छ । यसअघि सरकारले नेपालमा झन्डै १,५०० मानिसमा कोरोनाभाइरस सङ्क्रमण देखिन सक्ने अनुमान गर्दै त्यसैअनुसार परीक्षण किट लगायतका स्वास्थ्य सामग्रीको जोहो गरेको थियो । तर पछिल्ला केही दिनमा सङ्क्रमण बढेर ७०० को हाराहारीमा पुगेपछि अधिकारीहरूले सम्भावित सङ्क्रमणबारे नयाँ प्रक्षेपण गरेका हुन् ।

वाणगंगाले सक्यो कन्ट्याक्क ट्रेसिङको काम

कपिलवस्तुको वाणगंगा नगरपालिकाले कोरोना संक्रमित भेटिएका समुदायमा कन्ट्याक्क ट्रेसिङको काम सकाएको छ । नगरका दुई सञ्चारकर्मी, एक जनप्रतिनिधि र एक बालिका रहेको गाउँको कन्ट्याक्क ट्रेसिङ गरिएको हो । नगरपालिकाका नगर प्रवक्ता विष्णु पौडेलले कोरोनाको सम्भावित जोखिम रहेको स्थानमा कन्ट्याक्क ट्रेसिङ गरिएको मायादेवीलाई बताउनुभयो । नगरपालिकाले बुधबार (भोलि) झण्डै एक सय जनामा कोरोनाको नमुना परिक्षण गर्ने जनाएको छ । भोलि विहान ७ बजेदेखि नमुना परिक्षण अन्तर्गत स्वाब लिइने गरी तयारी भैरहेको नगर प्रवक्ता पौडेलले बताउनुभयो । स्वाब परिक्षण लिदा कन्ट्याक्क ट्रेसिङमा आएका समुदाय र क्वारेनटाइनमा बसेर समय पुगेका व्यक्तिलाई प्राथमिकता दिइने उहाँले बताउनुभयो । यता आजसम्म वाणगंगा नगरपालिकाका विभिन्न क्वारेनटाइनमा गरी २ सय ६० जना रहेका छन ।

वीरगञ्जमा डाक्टरका दुई समूहबीच कुटाकुट

वीरगञ्जमा जुनियर चिकित्सकहरुको दुई समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस र म्यासेजको विषयलाई लिएर भएको विवाद हात हालाहालसम्मको अवस्थामा पुगेको हो । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत जुनियर चिकित्सक डा. दीपक चौरसिया र नेशनल मेडिकल कलेजका डा। मधुरञ्जन सिंह पक्षबीच हात हालाहाल भएको हो । नारायणी अस्पतालका चिकित्सक बस्दै आएको टाउन हल क्वारेन्टाइन स्थलमै सिंह नेतृत्वको टोलीले विवाद गर्न पुगेका थिए । विवादको क्रममा सिंह नेतृत्वको टोलीको आक्रमणबाट नारायणी अस्पतालका चिकित्सक डा. दीपक चौरसिया सामान्य घाइते हुनुभएको छ ।

विजनगरमा आगलागी हुँदा ९ घरसहित २ गोठ जलेर नष्ट

कोरोना भाइरससंग जुधिरहेको कपिलवस्तुमा फेरि अर्को विपत्ति लाइलागेको छ । कोरोनासंगै पछिल्ला केहि दिन गर्मीले आहलकाहल पारेको जनजीवनमा जिल्लाको विजयनगरको एक बस्तीमा आगलागी भएको छ । विजयनगर गाउँपालिकामा आगलागी हुँदा ९ घरसहित २ गोठ जलेर नष्ट भएको हो । गाउँपालिकाको वडा नं. ७ मानपुरमा करिब दिउँसो साढे १ बजेतिर आगलागी हुँदा घरगोठ जलेको प्रहरीले जनाएको छ । स्थानीय रमेश यादवको गोठबाट आगलागी भएको थियो ।
आगलागीबाट लत्ता कपडा, खाद्यान्न, भाँडाकुडा नगद र गरगहनासहित अन्दाजी २० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनुभएको छ ।

जेष्ठ २० गतेसम्म मात्र सीमाबाट उद्धार गछौं, पछि सक्दैनौंः गौतम

अर्घाखाँचीको पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले भारतबाट सीमा नाकासम्म आउने सबै गाउँपालिकाबासीलाई उद्धार गरिरहेको बताउनुभएको छ । कोरोना महामारीको बेला भारतबाट आफ्नो घर फर्किएर सीमा नाकासम्म आउने सबैलाई गाउँपालिकाले उद्धार गरेर क्वारेनटाइनमा राखेको अध्यक्ष गौतमले बताउनुभयो । रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कोरोना विशेष संवादमा मंगलबार विहान कुराकानी गर्दै उहाँले भारतका कुनै पनि स्थानमा गाउँपालिकाबासी समस्यामा छन भने जसोतसो सीमा नाकासम्म आउन आग्रह गर्नुभएको छ । सीमा नाका आएर अलपत्र परिने हो कि भन्ने डर नपाल्न आग्रह गर्दै उहाँले त्यहाँबाट जसरी पनि गाउँपालिकाले उद्धार गरेर ल्याउने प्रष्ट पार्नुभयो । तर, सीमामा एक्लै आए उद्धार गर्न नसकिने उहाँले प्रष्ट पार्नुभएको छ । दुई चार जना व्यक्तिका लागि दैनिक सीमा नाकासम्म जान नसकिने स्पष्ट पार्दै आउँन चाहनेहरु धेरै हुनुपर्ने बताउनुभयो । गाउँपालिकाले ५ सयको हारहारीमा भारतबाट उद्धार गरेर गाउँपालिकाका क्वारेनटाइनमा राखेको बताउनुभयो । अहिले पनि कृष्णनगर, सुनौली नाकाहरुबाट दैनिक गाउँपालिकाबासीलाई उद्धार गरेर ल्याउने काम गरिरहेको उहाँले जानकारी दिनुभयो । उद्धारको काम जेष्ठ २० गतेसम्म मात्रै हुने उहाँले प्रष्ट पार्नुभएको छ ।

रुकुमको जातीय हिंसाबारे छानबिन गर्न समिति गठन

सरकारले रुकुमको जातीय हिंसाबारे अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । मंगलबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, अनुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिनुभयो । गृमहन्त्रीका अनुसार उक्त घटनामा ३ जनाको ज्यान गएको छ र ३ जना बेपत्ता छन् । जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर ८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जारजरकोट भेरी नगरपालिका वडानम्बर ४ का २१ का नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला केटी लाने पक्ष र केटी पक्षबीच झडप भएको थियो । भाग्ने क्रममा नदीमा हाम फालेका नवराज विकको शव भेरी नदीको बीच भागमा फेला परेको छ । उनीसँगै गएका टीकाराम सुनार र गणेश बुढाको शव फेला परेको छ ।

‘संशोधन नगरी एमसीसी पारित नगरौं, बरु खारेज गरौं’

साझा पार्टीले अमेरिकी च्यालेन्ज कर्पोरेशन एमसीसी (कम्प्याक्ट) सम्झौता संशोधन नगरि पारित गर्न नहुने बताएको छ । साझा पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यले विज्ञप्ति निकालेर एमसीसी सम्झौताका कतिपय प्रावधान नेपालको राष्ट्रिय स्वाभिमान र हितविरुद्ध रहेको र ती संशोधन नगरि संसदबाट पास गर्न नहुने बताउनुभएको हो । एमसीसी नेपालको कानुनभन्दा माथि हुने, नेपालको १३ करोड डलर लगानी रहने आयोजनाको लेखापरीक्षणमा महालेखा परीक्षक संलग्न नहुने, नेपालभित्रै निर्माण हुने प्रसारण लाइनका लागि भारतको स्वीकृति लिनुपर्ने, आयोजनामा रोजगारीको लागि नागरिकताको बन्देज नहुने, सम्झौताका केही दफा आयोजना सम्पन्न भइसकेपछि पनि क्रियाशील रहनेलगायत सम्झौताका प्रावधान आपत्तिजनक रहेको उल्लेख गरिएको छ । यी प्रावधानको समीक्षा र सुझावको लागि साझा पार्टीले स्वतन्त्र विज्ञहरूको कार्यदल गठन गर्न पनि माग गरेको छ । पूर्वाधार विकासको द्विपक्षीय अनुदान सहयोगको सम्झौता राष्ट्रिय हितमा दुरगामी प्रभाव पर्न सक्ने गरी अन्तर्रा्ष्ट्रिय सन्धिको रूपमा संसदबाट पारित गरिनु वाञ्छनीय नभएको साझा पार्टीको ठहर छ ।

तराईमा गर्मी बढ्यो, जनजीवन कष्टकर

केहि दिनयता कपिलवस्तुसंगै तराईका जिल्लाहरुमा गर्मी बढ्न थालेको छ । विगतमा फागुन महिनादेखि नै गर्मी हुने गरे पनि यस वर्ष जेठ महिनादेखि गर्मी बढ्न थालेको हो । लकडाउनमा केही सर्वसाधारणहरुको दिउँसोमा चहलपहल हुने गरेपनि बढ्दो गर्मीका कारण दिउँसोमा चहलपहल पातलिएको छ । यससँग दिउँसोमा लकडाउन पनि कार्यान्वयन हुन पुगेको छ । तर, साँझ सूर्यअस्त भएपछि छिटफुट रुपमा सर्वसाधरणहरु हिड्डुल हुने गरेको छ । लकडाउनमा सवारी साधनलगायतका कारण प्रदुषण कम हुँदा गर्मी ढिलो गरी सुरु भएको अनुमान गरिएको छ ।
लकडाउनका कारण दैनिक मजदुरी गरेर जीवनकोपार्जन गर्नेहरुका लागि गर्मीयाम झनै कष्टकर बन्न पुगेको छ । विगतमा गर्मी छल्नका युवायुवतीहरु विभिन्न पार्क, हरियाली स्थान, स्विमिङ पुलमा जाने गरेपनि अहिले ती सबै बन्द छन । गर्मी बढ्दै गएसँगै बालबालिकाहरु लगायत अन्य उमेर समूहका विरामी बढ्ने सम्भावना छ । यस समयमा झाडापखाला, ज्वरो, रुघाखोकी, पिसाव संक्रमण, जलवियोजन, मलेरिया, डेंगु लगायतका विरामी बढ्ने गर्दछन ।

क्वारेनटाइनको नियम उल्लङ्घन गर्ने युवकलाई ४ महिना जेल सजाय

दक्षिण कोरियामा क्वारेनटाइनको नियमलाई पटक पटक उल्लङ्घन गरेपछि एक अदालतले एक युवकलाई चार महिनाको कैद सजाय सुनाएको छ । दक्षिण कोरियामा क्वारेनटाइनको नियम उल्लङ्घन गरेकालाई सजाय दिइएको यो पहिलो पटक हो । मिस्टर किम नाम गरेका व्यक्ति क्वारेनटाइनको अवधि पूरा हुनु दुई दिनअघि घरबाहिर निस्किँदै गर्दा पक्राउ गरिएको थियो । उनलाई एक केन्द्रमा लगिएको छ, जहाँबाट उनले भाग्ने कोसिस गरेका थिए । राजधानी सोलका कैयौँ नाइट क्लबमा कोरोना सङ्क्रमण देखिने क्रम बढेपछि दक्षिण कोरियाले क्वारेनटाइनको नियमलाई उल्लङ्घन गर्ने्विरुद्ध कडा नियम लागू गर्नेबारेमा पनि सोचिरहेको छ । दक्षिण कोरियामा अहिलेसम्म ११ हजार दुई सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये दुई सय ७९ जनाको ज्यान गइसकेको छ । त्यस्तै १० हजार दुई सय ७५ जना उपचारपछि निको भएका छन् ।

बलिउडका प्रख्यात निर्देशक करण जौहर आइसोलेसनमा

बलिउडका प्रख्यात निर्देशक एवं निर्माता करण जौहर आइसोलेसनमा बसेका छन्। निर्माता जौहरले ट्विटरमार्फत विज्ञप्ति जारी गर्दै आफ्नो घरमा काम गर्ने दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएकाले आफू पनि १४ दिनका लागि एकान्तवास (आइसोलेसन) मा बसेको जानकारी दिनुभएको हो । करण जौहरले विज्ञप्तिका लेख्नुभएको छ, ‘परिवारका सबै सदस्य र अन्य सहयोगीको परीक्षण गरीएको थियो, सबैको रिपोर्ट नेगेटिभ आएको छ, तर पनि हामी वरपरका मानिस सुरक्षित रहुन् भनेर १४ दिनसम्म अलग्गै रहनेछौं ।’

बेलायतमा नयाँ दिशानिर्देशः अत्यावश्यक बाहेकका पसल खुलाइने

बेलायतमा अत्यावश्यक बाहेकका पसल पनि खुल्ने भएका छन् । प्रधानमन्त्री बोरिस जोन्सनले प्रेस ब्रिफिङमा १५ जुनदेखि अत्यावश्यक बाहेकका खुद्रा पसल पनि खोल्न दिइने बताएका हुन् । यद्यपि सबै पसलहरुले सरसफाइमा भने विशेष ध्यान दिनुपर्ने छ । साथै व्यक्ति–व्यक्तिबीचको दुरी पनि कायम राख्नुपर्ने छ । बेलायत सरकारले कोरोना महामारीका कारण गरिएको लकडाउन खुकुलो बनाउने सम्बन्धी नयाँ दिशानिर्देश जारी गरेको छ । प्रधानमन्त्री जोन्सनका अनुसार आउटडोर मार्केट र कारका शोरुमहरु १ जुनदेखि खोल्न सकिने छ । १ जुनदेखि नै इङ्गल्याण्डमा बालबालिकाका स्कुलहरु पनि खोलिने छ । यसअघि गत आइतबार प्रधानमन्त्री जोन्सले देश अब कोरोना महामारीसँग जुध्न दोस्रो चरणको सुरुवातका लागि तयार रहेको बताउनुभएको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७ मंगलबार ००:००  ८ : १४ बजे