९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेपालको कोरोनाको प्रकृति र विश्लेषणः कोरोना रोग कि मनोविज्ञान ?



चन्द्रकान्त न्यौपाने ।
कपिलवस्तु जिल्लाकी मुलुककै पहिलो कोरोना संक्रमित नर्स अहिले कोरोना जितेर घर फर्किनु भएको छ । तौलिहवास्थित कपिलवस्तु अस्पतालमा कार्यरत नर्समा कोरोना संक्रमण देखिएपछि उहाँले १४ दिनको आइसोलेशनपछि पुनः २ पटक कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि उहाँ आइसोलेशनबाट डिस्चार्ज हुनुभयो र घर आउनु भयो । नर्ससंगै कपिलवस्तुका ११ जनाले अहिले कोरोना जितेर हर्षित हुँदै घर फर्कनु भएको छ ।

वीरगंजको नारायणी अस्पतालबाट मात्रै दुई दिनमा ६१ जना डिस्चार्ज भए । गत सोमबार मात्र ४३ जना डिस्चार्ज हुने लिस्टमा विरगंजकै २ जना पत्रकार थिए भने बाँकी अरु थिए । त्यसअघि पर्सामा गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा २७ जनामात्र संक्रमित रहेकामा वीरगन्ज ३ छपकैयाका एकै परिवारका १८ जनाले एकै पटक कोरोना जितेर घर फर्किएका छन् । अचम्म त यो छ कि त्यहाँ दुइ महिने शिशुले पनि कोरोना जिते ।

यसरी पछिल्लोपटक ठुलो संख्यामा डिस्चार्ज हुनेको संख्या बढिरहेको छ । अहिलेसम्म ७ सय ७२ संक्रमित हुँदा मुलुकका बिभिन्न कोरोना अस्पतालबाट १ सय ५५ जना त कोरोनाको महाभारत युद्ध जितेर हर्षित हुँदै घर फर्कनु भएको छ । अरु धेरै लगत्तै डिस्चार्ज हुँदै हुनुहुन्छ । यसको स्पष्ट सन्देश यो हुन्छ कि कोरोना लाग्दैमा मरिन्न । बाँचिन्छ पनि । ‘कोरोना रोग होइन मनोविज्ञान’ हो ।

बालबच्चा, वृद्धवृद्धा, दीर्घरोगी, श्वासप्रश्वास सम्बन्धि समस्या, मुटुका रोगी र निमोनिया भएका ब्यक्ति त कोरोना लागे मात्र होइन अन्य रोग लागे पनि निधन भएका प्रशस्त उदाहरण छन् । यसअघि पनि यस्तो हुन्थ्यो । तर पनि यस्ता खालका रोगीलाई कोरोनाले छाड्दो रहेनछ भन्ने कुरा इटाली, अमेरिका, बेलायत, ब्राजिल, स्पेन, चीन आदि देशका घटनाले पनि पुष्टि गर्ने हुँदा यसलाई स्विकार्नु पनि पर्छ । चीनमा ५० वर्षमाथिका संक्रमित ५३.६ प्रतिशत छ भने विश्वको मृत्युदर ५ प्रतिशतको हारहारीमा छ । अमेरिकालगायत अन्य मुलुकमा पनि वृद्धवृद्धा धेरै संक्रमित छन् ।

त्यसकारण कोरोनाको यो सकसमा त्यस्ता ब्यक्तिमाथि विशेष निगरानी र हेरचाहमा सबैले ध्यान दिन जरुरी छ । तर यी समस्या भएका बाहेकका किशोरकिशोरी र युवायुवतीहरुलाई कसैगरी कोरोना भैहाल्यो भने कोरोनाले जित्दैन रहेछ, कोरोनालाई जितिइने रहेछ भन्ने कुराको प्रमाण विश्वमै नेपाल बनेको छ । नेपालमा अहिलेसम्म निधन भएका चारै जनाको अवस्था हेर्दा उनीहरु पूर्व रोगी भएको कारण कोरोनाले ज्यान लिएको पाइन्छ । कोही सुत्केरी थिए त कोही अन्य रोगी थिए । स्वस्थ ब्यक्तिलाई एक्कासी च्यापेर अहिलेसम्म नेपालमा कोरोनाले ज्यान लिएको उदाहरण छैन । आशा गर्दछौँ अब यी ४ जनाभन्दा माथि कसैले पनि कोरोनाका कारण ज्यान गुमाए भन्ने खबर सुन्न, देख्न, पढ्न नपरोस् ।

नेपालमा कोरोना संक्रमण भएकाहरुको प्रकृति र लिस्ट हेर्दा यहाँ बालबालिका र वृद्धवृद्धालाई भन्दा युवायुवतीलाई बढी कोरोना संक्रमण भएको पाइएको छ ।

विश्वमा कोरोना भाइरस (कोभिड– १९)को संक्रमण ५० वर्षमाथिका वृद्धवृद्धामा बढी भएको तथ्यांक आइरहेका वेला नेपालमा भने अधिकांश संक्रमित युवा छन् । अधिकांश २१ देखि ३५ वर्ष उमेर समूहका भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसमध्ये पनि ५० बर्ष मुनीका ७५ प्रतिशत र ५० वर्षमाथिका २५ प्रतिशत छन् । कोरोना संक्रमितको संख्या बढिरहँदा यो तथ्यांकमा थोरै तलमाथि हुन सक्ला । अन्यथा अहिलेसम्मको रेकर्डले यही भन्छ । त्यसमध्ये पनि सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका रहेका छन् । त्यसमा लगभग धेरै काम र मामको लागि विदेश गएर फर्किएकाहरु रहेका छन् । केन्द्रीय सरुवा रोग अस्पताल टेकुका चिकित्सकले पनि यस कुरालाई स्विकार गर्दछ । त्यस्तै देशभरका क्वारेनटाइनमा बस्नेको संख्यामा पनि अधिकांश युवा नै रहेका छन् । संक्रमित सबै युवा भएको र कोरोनाका कुनै लक्षण देखा नपरेकाले पनि यहाँ मृत्युदर निकै न्यून नभएको स्वयम् चिकित्सकहरु बताउँछन् ।

यसरी नेपालमा संक्रमित भएका, क्वारेनटाइन र आइसोलेशनमा बसेका अनि कोरोना जितेर घर फर्कनेहरुको अनुभव लिँदा उच्च मनोबल कायम गर्दा मात्र सजिलै कोरोनालाई परास्त गर्न सकिन्छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ । विश्वमै यो कोरोनामा देखिएको फरक खालको प्रकृति हो ।

पहिलो कोरोना संक्रमित कपिलवस्तुकी नर्सले आइसोलेशनमा बस्दा औषधीसमेत सेवन नगरेको पाइयो । आइसोलेशनको ३ सय ३६ घण्टामा उहाँले औषधी सेवन नगरी आत्मबललाई औषधीको रुपमा सेवन गर्नुभयो । हिम्मत हार्नु भएन । आफूलाई कोरोना लागेको छ भन्ने विर्सेर उहाँ हर समय परिवार, आफन्त र साथिसंगीसंग हाँसी मजाकमै रहनु भयो । कोही कसैसंग पनि कोरोना लाग्यो भनेर उहाँले दुख मानेको, पीर मानेको अनुभूति दिलाउनु भएन र अन्तत्वगत्वा उहाँले कोरोना जितेर खुसी मुद्रामा घर आउनु भयो । उहाँले केही समयपछि अब काममा फर्कने पनि जनाउनु भएको छ ।

जेठ १२ गते मात्र वीरगंजको नारायणी अस्पतालबाट ४३ जना डिस्चार्ज हुँदा उहाँहरु औधी खुसी देखिनु हुन्थ्यो । कोरोना जित्नेहरुलाई चिकित्सक, परिवार, आफन्त र साथिसंगीले पुष्प गुच्चाले स्वागत गरे । उहाँहरु डिस्चार्ज हुँदा अनुहारमा कुनै उदासता र गम्भीरता थिएन उल्टै बारिह स्वागतमा लाइनमा बसेकाका मलिन मुद्रामा पारिलो किरण छर्ने खुसी लिएर आइसोलेशनको कक्षबाट बाहिरिनु भएको थियो । बाहिर आइसकेपछि वीरगंजका पत्रकारले पनि आत्मविश्वास र उच्च मनोबलले नै कोरोना जितेको प्रतिक्रिया दिनुभयो ।

कपिलवस्तु तौलिहवाका कोरोना संक्रमित एक जना पत्रकार अहिले स्थानीय आइसोलेशनमा उपचाररत हुनहुन्छ । उहाँले त आइसोलेशन सेन्टरबाटै भिडिओ कार्यक्रम पनि चलाइरहनु भएको छ भने बिभिन्न मिडियालाई अन्र्तवार्ता दिँदै आफ्नो अनुभव बिभिन्न रेडियो टिभीलाई पनि दिइरहनु भएको छ । मायादेवी रेडियोसंग पनि अन्र्तवार्ता दिँदै उहाँले त आफ्नो नाम नै सार्वजनिक गर्नुभयो । हामीसंग कुराकानी गर्दा पनि उहाँमा कुनै कोरोनाका पीर र चिन्ता देखिएन । हर्षित हुँदै अन्तर्वार्ता दिनुभएका उहाँले कोरोना लाग्यो भनेर पीर गर्ने हो भने कोरोनाले होइन मनको तुच्छ बाघले नै खाइदिने बताउनु भयो । यसबाट पनि यो कुरा प्रमाणित हुन्छ कि ‘कोरोना रोग होइन मनोविज्ञान’ नै हो ।

कपिलवस्तुका तीन पत्रकार कोरोना संक्रमित हुँदा बाणगंगाका एक जना जनप्रतिनधि (वडाध्यक्ष) लाई पनि यस भाइरसले छाडेन । उहाँको अनुभवलाई लिँदा पनि कोरोनालाई जित्न उच्च मनाबल नै काफी छ भन्ने सन्देश पाइन्छ । रुपन्देहीको बुटवलस्थित एन्फा टेक्निकल सेन्टरमा बनाइएको आइसोलेसन सेन्टरमा १४ दिनसम्म उहाँको उपचार भइरहेको छ । तर पनि उहाँमा कुनै कोरोना त्रासदिका कणहरु देखिँदैनन् । उहाँले त सामाजिक संजालमा आफ्ना विचार राख्दै कोरोनालाई जितेर फर्कि पुनः जन सेवा गर्ने भोक दर्शाउनु भएको छ ।

उहाँले आफ्नो फेसबुकमा लेख्नु भएको छ कि, “भौतिक रुपमा सङ्गै हुन नपाए पनि भावनाले म सबै सेवारत महान आत्महरुसङ्गै छु । केहि दिनमै पुनः सकृय उपस्थितिका साथ सेवामा लाग्नेछु । म ब्यक्तिगत रुपमा अत्यन्तै उत्साहित र उच्च मनोबलका साथ बसिरहेको छु । सकेसम्म एकदिन पनि ढिलो नभई पुनः सकृय सेवामा फर्कने स्थिति बनोस् भन्ने कुरा नै कल्पना गरिरहेको छु । कोहि कसैलाई त्रसित नहुन र भ्रमित नहुन अनुरोध गर्दै अदम्य मनोबलका साथ सुरक्षित रहि सेवामा लाग्न सबैमा अनुरोध गर्दछु । अलिकति पनि बिचलित नभई आइसोलेसनमा बसिरहेको छु । हतास नहोऊँ । बचौं । सेवामा लागौँ । अग्रभागमा रहेर खट्ने सबैमा थप सचेतता र होसियारी आवश्यक छ । सबै मिलेर कोरोनालाई परास्त गरौं । हतास भएर होइन उच्च मनोबलका साथ आफू बच्ने र अरुलाई बचाउने महा अभियानमा लागौँ ।” उहाँहरुको अनुभव मात्रै होइन, नेपालभरको कोरोनाको प्रकृति र यसको रुपलाई विश्लेषण गर्दा यही सन्देश पाइन्छ कि नेपालमा कोरोनाको कारण मरिन्न मात्र । उच्च आत्मविश्वास लिने हो भने बाँचिन्छ । विश्वभर कोरोना जितेर घर फर्केकाहरुले यही सन्देश दिएका छन् ।

कोरोनालाई जित्ने एक मात्र औषधी आत्मविश्वास हो । रुपन्देहीका पहिलो संक्रमित एक युवक आइसोलेशन कक्षमै मस्तिसंग नृत्य गरेको भिडिओ (सिसिटिभी) रातारात भाइरल नै बन्यो । उनले कोरोनालाई जित्न आफूले यसो गरेको डिस्चार्ज हुन क्रममा बताएका थिए । देशभरका क्वारेनटाइनमा बस्नेहरुलाई बिभिन्न गीतसंगितमा नाच्नको लागि प्रेसरत गरिरहेको अहिलेको अवस्था छ भने क्वारेनटाइन मै ब्यायाम लगायतका कामहरु गर्न भनिएको छ । यस कुरालाई विश्लेषण गर्दा पनि तथ्यले यही भन्छ । यति मात्र होइन क्वारेनटाइनमा बस्नेहरुले पनि कोरोनालाई बिर्सन दिनभर नाच्ने, गाउने, मोबाइल चलाउने आदि आदि गतिविधि गरिरहेका हुन्छन् । यसो गर्दा खुसी भइने र खुसी हुँदा रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता बढेर कोरोनालाई जित्न सकिने स्वयम् चिकित्सकहरु बताउँछन् ।

नेपालमा मात्र होइन विश्वभरको तथ्यलाई विश्लेषण गर्दा पनि यही पत्ता लाग्दछ कि कोरोना संक्रमण भएको । नभएको अवस्थामा आत्मबल उच्च बनाऔँ । कोरोनाले सितिमित भेट्दैन र भेटिहाले पनि सजिलै कोरोनालाई परास्त गर्न सकिन्छ ।

बेलायती प्रधनमन्त्री बोरिस जोनसनलाई पनि कोरोना देखियो । उमेरको हिसाबले ५५ बर्षको भए पनि उनी बाँच्न सफल भए । भारतीय नायिका कनिका कपुर पनि कोरोनाले संक्रमित भइन् । अमेरिकाका ६३ बर्षीय अभिनेता टम ह्याङ्सलाई पनि कोभिड–१९ ले छोयो । चर्चित अर्जेन्टाइन फुटवलर पउलो डिवाला, विश्वका अरु गायक गायिका, नायक नायिका, नेता, राकुमार, राजकुमारी, खेलाडी, लगायतलाई कोरोना लागे पनि निको भएर घर फर्के । कोरोनाको औषधी तथा भ्याक्सिन पत्ता नलागेको यस यस विश्वपरिवेशमा उनीहरुले कसरी कोरोनालाई जिते त भन्दा उच्च आत्मविश्वास नै हो । हर समय आत्मविश्वासी र खुसी रहँदै रोग प्रतिरोधात्मक क्षमता बढाएकै कारण उनीहरुले कोरोनालाई सजिलै जिते । कोरोनाको औषधी पत्ता नलागेर हैरान भएका वैज्ञानिहरु पनि औषधी पत्ता लागे पनि नलागे पनि धैर्य र आत्मविश्वासी हुन विश्वभरका समुदायलाई आग्रह गरिरहेका छन् ।

मनोविमर्शकर्ताहरु पनि यही भन्दछन् कि, कोही पनि कोरोनाको भयमा नरहनू । कोरोनाले विश्वरका २ सय १५ बढी देशलाई आक्रान्त पारिरहेको भए पनि कोरोना लागेर मरिन्छ भन्ने भय कसैले पनि पाल्न नहुने चर्चित मनोविमर्शकर्ता स्वामी विकासानन्द बताउँनुहुन्छ । ज्वरो, रुघाखोकी लाग्दैमा पनि कोरोना लाग्यो कि भनेर नागरिक तर्सने र ती लक्षण देखिनासाथ चिकित्सकले विमारी जाँच गर्न नमान्ने प्रवृत्ति कोरोनाभन्दा घातक हुने उहाँको भनाई छ । स्वामी विकासानन्दको भनाईलाई सापटी लिएर यो भन्न सकिन्छ कि कोरोनाबाट बच्न भय होइन खुसी र आत्म विश्वासी हुनुको विकल्प छैन ।

अन्तत्वगत्वाः गत डिसेम्बर ३१ तरिखदेखि चीनको बुहानबाट विश्वभर फैलिरहेको कोरोना (कोभिड–१९) का कारण विश्वभर यो लेख तयार गर्दासम्म साढे ३ लाख मानिसको ज्यान गइसकेको छ । करिब ५६ लाख संक्रमित छन् भने २३ लाख ६७ हजार बढी निको भएर घर फर्किसकेका छन् ।

कोरोग रोग होइन भाइरस हो । यस भाइरसको उपचार आजका मितिसम्म छैन । त्यसैले आफै संयम रहनु पर्दछ । सतर्क हुदाहुँदै लागि हाले पनि नआत्तिऔँ । सामाजिक संजाल र अविश्वसनीय मिडियाबाट प्रकाशन प्रसारण भएका कोरोना गतिविधिमा विश्वास नगरौँ । परिवारसंग बढी समय हाँसीखुसी विताऔँ । सकारात्मक कुराहरु गरौँ । रोग प्रतिरोधात्मक खाने कुराहरु प्रशस्त सेवन गरौँ । घरमै बिभिन्न नयाँ नयाँ परिकारहरु तयार पारौँ । बाहिरका खाने कुराहरु सकेसम्म नखाऔँ ।

आफूलाई मन पर्ने क्रियाकलाप गरौँ र मनपर्ने गीतसंगित सुनौँ । पुराना तथा दीर्घ रोगी, प्रेसर, श्वासप्रश्वास, मुटु, मिर्गौला आदि रोगीलाई विशेष ख्याल गरौँ । बालबालिका तथा वृद्धवृद्धाको खानपान र हेरविचारमा कत्ति कसर बाँकी नराखौँ । तातो झोलिलो पदार्थ सेवन गरौँ । कुनै पनि चिज छोइसकेपछि २० सकेण्ड बढी साबुन पानीले मिचिमिचि हात धोऔँ या सेनेटाइजर प्रयोग गरौँ । बाहिर जाँदा अनिवार्य मास्क प्रयोग गरौँ ।

अतःयो भाइरसको उपचार स्वयम् व्यक्ति र उसका गतिविधि भएकाले कोरोनामैत्री गतिविधि गरौँ । राज्यले बनाएको नियम मानौँ । लक डाउनको पूर्ण पालना गरौँ । यति गरेमा कसैलाई पनि कोरोनाले छुने छैन र छोइहाले पनि सजिलै जित्न सकिने छ । अकालमा मरिने छैन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७ मंगलबार ००:००  ७ : १७ बजे