एजेन्सी ।
जर्मन बुन्डेस लिगामा आज (मंगलबार) शीर्ष दुईमा रहेका बायर्न म्युनिख र बोरुसिया डर्टमन्डबीच प्रतिस्पर्धा हुने भएको छ । डर्टमन्डको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति १०ः१५ बजे सुरु हुनेछ ।
उपाधि दौडमा रहेका दुवै टोलीका लागि यो खेल जित्नैपर्ने दबाब छ । लिगका २७ खेल सकिँदा बायर्न ६१ अंकसहित शीर्ष स्थानमा रहेको छ भने डर्टमन्ड ४ अंकले पछि छ । घरेलु मैदानमा डर्टमन्ड जित निकल्न सके उपाधि दौडमा बायर्नलाई दबाब सिर्जना गर्नेछ ।
तर, डर्टमन्डलाई त्यति सजिलो भने हुने छैन । बायर्नले पछिल्ला १३ खेल खेल्दा १२ खेलमा जित हासिल गरेको छ । पछिल्लो समय लयमा देखिएको डर्टमन्डका प्रमुख खेलाडी तथा कप्तान मार्को रियुस यस खेलमा अनुपस्थित रहनेछन् । त्यस्तै मांशपेशीको चोटबाट मुुक्त हुँदै एक्सल विट्सेल यसै खेलबाट मैदानमा फर्कंदै छन् ।
यी दुवै टोलीबीच नोभेम्बरमा भएको खेलमा डर्टमन्डले बायर्नसँग ४–० ले गुमाउन पुगेको थियो । तर, जनवरीमा नर्वेली फरवार्ड डर्टमन्डमा भित्रिएसँगै डर्टमन्डको लाइनलअप बलियो देखिएको छ ।
प्रतिक्रिया