९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आज मुस्लिम समुदायको महान पव ‘ईद अल–फित्र, सरकारद्धारा सार्वजनिक बिदा




काठमाण्डौँ ।

मुस्लिम समुदायको महान पर्व ईद अल–फित्र । तर कोरोनाका कारण विगतका बर्षमा जस्तो उल्लास छैन । घरमै बसेर सबैले आआफ्नो तवरले बनाउने भएका छन् ।

’इद उल फितर’ पवित्र रमजान महिनाको अन्तिम दिनमा पर्दछ । चन्द्रमाको आकार यो पर्वको निर्धारणमा एकदमै महत्वपूर्ण हुन्छ त्यसकारण पनि इस्लामीक रीति अनुसार रमजानको अन्तिम दिन साँझमा सबैजनाले चन्द्रमा हेर्ने गर्दछन र जब ’हिजाल’ अर्थात् अर्धचन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ तब मात्र रमजान महिनाको कठिन व्रतको समापन र इद उल फितर पर्वको प्रारम्भ हुने गर्दछ । यो एउटा उत्साह, जीत र समानताको चाड हो जहाँ परिवार र समूदायका हरेक व्यक्ति धनी, गरीबहरूको मुहारमा मुस्कान र सदाचारका शुभेच्छाहरु भरीएका हुन्छन् र यिनै सदाचारका शुभकामनाहरू एक अर्कालाई अङ्गालोमा बेर्दै आदानप्रदान गर्ने गर्दछन् ।

इस्लाम धर्मका प्रवर्तक मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममा यहि रमजान महिनामै पवित्र ग्रन्थ कुरानका विचारहरु प्रकट भएको जनविश्वास रहिआएको पाइन्छ । यस महिनाभरि जहन्नुम अर्थात् नर्कको सम्पूर्ण ढोकाहरु बन्द हुने र जन्नत अर्थात् स्वर्गका सम्पूर्ण ढोकाहरु खुल्ला रहने बताइन्छ जस कारण यस महिनालाई अल्लाहको महिना पनि भनिन्छ ।

इदको दिन इस्लाम धर्मावलम्बीहरु स्नान गरेर सकेसम्म नयाँ कपडा लगाएर नत्र आफूसँग भएका कपडाहरु मध्ये सबैभन्दा राम्रो कपडा लगाएर इद विशेष प्रार्थनाकालागि नजिकैको मस्जिदमा भेला हुने गर्दछन र प्रार्थना गर्दै अल्लाहलाई धन्यवाद दिने गर्दछन्, यसरी मस्जिद या प्रार्थना भेलामा जाँदा घरबाटै तक्विर अर्थात् अल्लाहको महिमा उच्चारण गर्दै उक्त स्थानसम्म पुग्ने गर्दछन र बाटोमा भेट हुने सम्पूर्णसँग शुभकामना आदान प्रदान गर्दै जाने चलन छ ।

प्रार्थनामा जाँदा र फर्कदा सकेसम्म फरक-फरक बाटो प्रयोग गर्नुपर्ने चलन छ । तर, कोरोना भाइरसको नियन्त्रणका निमित्त यो वर्षको ईदमा सबैलाई आफ्नो घरमा बसेर नै नमाज पढ्न र शुभकामना आदान प्रदान गर्न नेपाल मुस्लिम आयोगले अनुरोध गरेको छ । आजका दिन सरकारले पनि सार्वजनिक बिदा दिएको छ । सरकारले यसअघि हिजो जेठ ११ गते लाई बिदा दिए पनि सच्याएर आजको लागि विदा दिएको हो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७ सोमबार ००:००  ५ : ४० बजे