९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

वाणगंगाले कोरोना संक्रमित राख्ने आइसोलेशन अझै बनाउन सकेन, संक्रमित जहाँको त्यहि !



मायादेवी अनलाइन, चारनम्बर ।
शुक्रबार साँझ रेडियो मायादेवीको मूल खबरमा कुराकानीको क्रममा नगर प्रवक्ता विष्णु पौडेलले ५ जना कोरोना संक्रमित मध्ये ३ जनालाई पटना लैजान लागिएको बताउनुभयो । रातिसम्म पटना स्वास्थ्य चौकीको भवनमा निर्माण गरिएको आइसोलेशनमा संक्रमितलाई राखिने उहाँको भनाई थियो । अर्का संक्रमित ८ बर्षीया बालिकालाई घरकै कोठामा राखिने र सञ्चारकर्मीलाई तौलिहवा लगिने प्रवक्ता पौडेलले जानकारी दिनुभएको थियो ।

तर, प्रवक्ताले बोलेको २४ घण्टा वितिसक्दा पनि कुनै कुरा पूरा भएको छैन् । संक्रमित मध्ये तीन जना सिद्धार्थ क्पाम्पसकै क्वारेनटाइनमा रहेका छन भने बालिका घरमै रहेकी छिन् । सञ्चारकर्मी भने आफ्नै पहलमा तौलिहवा आइसोलेशनमा गएका हुन् । तौलिहवाका अर्का संक्रमितसंग बस्ने गरी उनले उतै प्रबन्ध मिलाएका हुन् ।

शनिबार फेरि वाणगंगामा ६ संक्रमित थपिएका छन् । शुक्रबारका ४ जना अलपत्रै अवस्थामा रहेको बेला शनिबार थपिएका संक्रमितलाई कहाँ लैजाने भन्ने अझै अन्यौल छ । नगरपालिका दिनभर छलफलमा जुट्यौ तर निर्णय लिएर काम अगाडी बढाउन सकेन । ‘वाणगंगामा कुरा हुने, छलफल हुने तर, काम नहुने प्रबृत्ती नयाँ होइन पुरानै हो एक जना सरोकारवालाले मायादेवीसंग भने, ‘अहिलेको यस्तो परिस्थितीमा पनि गम्भीर बन्ने छाँट पटक्कै देखिएन ।’

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा प्रदेशस्तरका मन्त्री र स्थानीय तहका प्रमुखहरु बसेर आ आफ्नो स्थानीय तहमा आइसोलेशन सेन्टर बनाउने निर्णय गरेका थिए । यो निर्णय हुन थालेको एक हप्ता वित्न लागेको छ । बुटवल र दाङको बेलझुण्डीका कोरोना अस्पतालमा संक्रमितको चाँप बढेपछि प्रदेशले स्थानीय तहमै आइसोलेशन बनाउन आग्रह गरेको थियो । प्रशासनमा गरिएको उक्त बैठकमा जिल्लाका सबै स्थानीय तहको प्रतिनिधित्व रहेपनि वाणगंगाको नभएको स्रोतले बतायो ।

जिल्लाको पश्चिमी क्षेत्रमा रहेको विजयनगर गाउँपालिकाले आइसोलेशन बनाएर तीन जना संक्रमितलाई व्यवस्थापन गरिसकेर उदाहरण प्रस्तुत गरिरहदा भौतीक संरचनामा धनि नगरपालिकाले अझै बनाउन सकेको छैन ।

प्रदेश सांसद विष्णु पन्थीले तीन जना संक्रमितलाई बुटवल लैजाने तयारी भएको मायादेवीलाई बताउनुभयो । नगरभित्रै आइसोलेशन बनाउनुपर्नेमा जोड दिदै काम युद्धस्तरमा भैरहेको दाबी गर्नुभयो । उहाँले अहिले यो दाबी गरिरहदा विहान मात्र सामाजिक सञ्जालमा वाणगंगाले समयमै आइसोलेशन बनाउन नसक्दा समस्या उत्पन्न भएको भन्ने आसयको कुरा पोस्ट गर्नुभएको थियो ।

स्रोतका अनुसार आइसोलेशनका लागि नगरपालिका ठाउँ खोज्नमै व्यस्त छ । शुक्रबार दिनभर ठाउँ खोजेपनि कुनै निष्कर्षमा पुग्न नसकेको वाणगंगा शनिबार पनि त्यस्तै परिस्थितीमा गुज्रियो । कपिलवस्तु उद्योग वाणिज्य संघको भवनलाई आइसोलेशन बनाउन सकिने गरी छलफल भएपनि तत्काल सम्भव नदेखिएको स्रोतले बतायो । ‘उद्योग संघको भवन राम्रो छ तर बेड लगायतका सामग्री किन्नुपर्ने देखियो । अहिले लकडाउनले गर्दा जहाँत्यही किन्न नपाइने हुँदा समय लाग्ने देखिन्छ, संक्रमित भेटिइ सकेकाले तत्काल राख्ने ठाउँ कतै भेटिएन एक सरोकारवालाले भने ।

यता ठाकुरापुुरकी दोस्रो संक्रमित बालिकाका बुवा भुवन प्रसाद श्रेष्ठले नानीको थप उपचारबारे नगरपालिका नै अलमलमा रहेको बताउनुभयो । कोरोना देखिएपछि नगरपालिकाका प्रतिनिधि घरमा आएर सम्झाई बुझाई गरेर गएपनि अहिले भने कहाँ के गर्ने भन्नेबारे केहि नभनेको उहाँले बताउनुभयो । नगरका प्रतिनिधिहरु घरमा आएर नानीको बारेमा सोचिरहेका छौं, चिन्ता नगर्नु भन्दै फर्किने गरेको श्रेष्ठले दुखेसो पोख्नुभयो ।

प्रकाशित मिति : १० जेष्ठ २०७७ शनिबार ००:००  ५ : ३६ बजे