९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

कोरोना संक्रमितलाई कहाँ राख्ने वाणगंगा अन्यौलमा, प्रवक्ता भन्छनः निर्णय गर्दैछौं



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएकालाई कहाँ राख्ने अझै टुंगो लागेको छैन । नगरका ५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये तीन जना नगरपालिकाले बनाएको क्वारेनटाइनमा रहेका छन भने दुई जना घरमै रहेका छन् ।

शुक्रबार विहान संक्रमण पुष्टि भएका ५ जनालाई पनि व्यवस्थापन गर्न वाणगंगालाई आपत आइलागेको छ । नगरभित्रका दर्जनौं गगनचुम्नी सरकारी विद्यालयका भवन रहेका छन भने उत्तिकै मात्रामा नीजि विद्यालयका भवन छन् । नगरका ११ वडामध्ये ८ वडामा सुविधासम्पन्न स्वास्थ्य चौकी रहेका छन भने पिपरा अस्पताल सिंगै वाणगंगामा छ । तर, अहिलेसम्म कोरोना संक्रमित राख्ने आइसोलेशन कक्ष बनाउन वाणगंगाले सकेको छैन् ।

एक हप्ता अगाडी नै नगरभित्रकी एक ६ बर्षीय बालिकालाई कोरोना संक्रमण पुष्टि भएपछि नगरमा कोरोनाले घण्टी बजाइसकेको थियो । नगरका क्वारेनटाइनमा भारत हुँदै आउने थपि रहँदा कोरोनाको खतराका संकेत प्रष्ट देखिएकै थियो । तर, वाणगंगाले संक्रमित भेटिएपछि राख्ने आइसोलेशन सेन्टर बनाउन तर्फ ध्यान दिएन । आज आएर यो कुरा प्रष्ट भएको छ ।

विहान कोरोना संक्रमित भेटिए लगत्तै वाणगंगामा कार्यपालिकाको आकस्मिक बैठक बस्यो । बैठक कोरोना संक्रमितलाई कसरी व्यवस्थापन गर्ने विषय केन्द्रित रहेको बुझिएको छ । लगत्तै वाणगंगाले पिपरामा रहेको जनता माविलाई आइसोलेशन सेन्टर बनाउने निर्णय गरेको सूचना बाहिर चुहियो ।

सामाजिक सञ्जालमा पनि जनता माविमा आइसोलेशन बन्यो भन्ने पोष्टहरु देखिएका थिए । तर, नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले जनतामा माविलाई आइसोलेशनको सम्भावित स्थान राखिएपनि अझै निर्णय भै नसकेको बताउनुभयो । ‘जनता माविमा आइसोलेशन बनाउन सकिन्छ पनि सकिदैँन पनि ? प्रवक्ता पौडेलले मायादेवीसंग भन्नुभयो, ‘आवश्यक निर्णय लिएपछि मात्र प्रष्ट हुन्छ । कहाँ बनाउने भन्ने ।’

जनता माविमा भवन प्रयाप्त रहेपनि शौचालयको अभावका कारण त्यहाँ सम्भव नहुने आवाज उठेको छ । कोरोना संक्रमितले दैनिक सरसफाईमा ध्यान दिनुपर्ने हुँदा शौचालय प्रयाप्त भएन भने समस्या हुने देखेपछि जनता माविमा आइसोलेशन नहुने पक्कापक्की जस्तै भएको एक जना जनप्रतिनिधिले मायादेवीलाई भने ।

नगरपालिकाले अब सिद्धार्थ क्याम्पसभित्रै आइसोलेशन बनाउने गृहकार्य गरिरहेको बुझिएको छ । यो क्याम्पसमा नगरपालिकाको क्वारेनटाइन छ । तर, क्वारेनटाइनमा रहेकालाई अन्यत्र कतै व्यवस्थापन गरेर यही आइसोलेशन बनाउन सकिने गरी छलफल भएको स्रोतले जनाएको छ ।

त्यहाँ नभएर वाणगंगा मावि लगायतका स्थानको बारेमा पनि छलफल चलिरहेको बताइएको छ ।

यता नगरपालिकाको वडा नं. ४ ठाकुरपुरमा देखिएका ८ बर्षीया संक्रमित बालिका घरमै रहेको पाइएको छ । कहाँ जाने कुनै स्थानको पत्ता लाग्न नसक्दा उनलाई घरमै कोठाभित्र राखिएको छ । उनको घर भने अहिले सिल गरिएको छ । संक्रमित मध्येका अर्का एक जना सञ्चारकर्मी पनि हाल घरमै रहेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७ शुक्रबार ००:००  ५ : ४३ बजे