बाँके ।
बाँके जिल्लाका पहिलो संक्रमित ६० वर्षीय व्यक्तिसँगै २१ जना कोरोनाबाट निको भएका छन् । बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसन वार्डमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका २१ जनाको पुनः परीक्षण रिपोर्ट नेगेटिभ आएकाले डिस्चार्ज गर्न लागिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
‘उहाँ सबै नेपालगन्ज उपमहानगरपालिकाकै हुनुहुन्छ,’ श्रेष्ठले भने ‘ रि टेष्ट गर्दा उहाँहरुको रिपोर्ट नेगेटिभ आएको हुँदा केही बेरमा घर पठाउने तयारी भइरहेको छ ।’
स्रोतका अनुसार शुक्रबार डिस्चार्ज भएर घर जान लागेका मध्य नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का एक पुरुषसहित र ८ का २० जना रहेका छन् । फोकल पर्सन श्रेष्ठले निको भएर घर जान लागेकाहरु महिला समेत रहेको जानकारी दिएपनि कति जना ? भन्ने खुलाउन चाहेनन् ।
भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले नेपालगन्जका पहिलो संक्रमित व्यक्ति ६० वर्षीय पुरुषको बिहीबार परिक्षण गर्दा तेस्रो रिपोर्ट नेगेटिभ आएको र अन्य २० जनाको दोस्रो रिपोर्ट समेत नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गर्न लागिएको बताए ।
बाँकेमा पहिलोपटक वैशाख १९ गते ६० बर्षीय एक मस्जिदमा पढाउने शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनको सम्पर्कमा आएका एकै टोलका अन्य मानिसहरुमा समेत संक्रमण भेटिएको थियो । २० दिन आइसोलेनमा बसेर निको भएर घर जान लागेकाहरु उनीहरु नै रहेको स्रोतले बताएको छ ।
उनीहरुलाई शुक्रबार बिहान ९ बजेतिर अस्पतालले बिदाइ गर्ने कार्यक्रम राखेको छ । बाँकेमा हालसम्म १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये नरैनापुर गाउँपालिका वडा नं. ५ का २५ वर्षीय एक पुरुषको क्वारेन्टिनमै मृत्यु भएको थियो ।
बाँकेमा हालसम्म नरैनापुरका ७४, नेपालगन्जका २५ र खजुराका २ जना संक्रमित फेला परेका छन् । संक्रमितहरुको खजुरा, नेपालगन्ज, कोहलपुर र दाङमा उपचार भइरहेको छ । खजुरा अस्पतालमा ३८ जनाको उपचार भइरहेको छ । त्यसमा बाँके ३७ र बर्दियाकी एक जना ११ वर्षीया बालिका रहेका छन् ।
प्रतिक्रिया