१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अर्घाखाँचीको छायाँ क्लिनिकका सबै स्वास्थ्यकर्मीको पिसीआर रिपोर्ट नेगेटिभ



बिष्णु कुमार आले, अर्घाखाँची ।
कोरोनाका कारण मृत्यु भएका गुल्मीका संक्रमितले चेकजाँच तथा उपचार गराएको अर्घाखाँची सन्धिखर्कमा रहेको छायाँ पोली क्लिनिक प्रा.लि.का १० जना स्वास्थ्यकर्मीहरुको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

मृतक संक्रमित शिक्षकले सन्धिखर्कमा रहेको छायाँ पोली क्लिनिक प्रा.लि.मा स्वास्थ जाँच गराएको खुलासा भएपछि क्लिनिकका १० जना स्वास्थ्यकर्मीहरुको नमूना स्वाव संकलन गरी पिसीआर परीक्षणको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको थियो ।

क्लिनिकमा उपचारका लागि आएका सबै बिरामी र उनीहरुको सम्पर्कमा आएका सबैलाई सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ ।

बैशाख ३१ गते आफन्तसँग मोटरसाइकलमा सन्धिखर्कमा रहेको छायाँ पोली क्लिनिक प्रा.लि.मा आएर गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षीय शिक्षकले चेकजाँच तथा उपचार गराएको खुलेपछि जिल्ला प्रशासन कार्यालयले उक्त क्लिनिक सिल गरेको थियो । कोरोना सक्रमित शिक्षकको बिहीवार बिहान ७ः१० बजे रूपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

औषधि खाँदा पनि सञ्चो नभएपछि टाइफाइड भएको भन्दै उनलाई सन्धिखर्क ल्याइएको थियो । बैशाख ३१ गते छायाँ पोली क्लिनिकले चेकजाँचपछि उनलाई बैशाख ३१ गते राति नै बुटवल रेफर गरेको थियो ।

जण्डिस र निमोनिया भएको भन्दै आफन्तले १ जेठमा क्रिमसन अस्पताल भर्ना गरेका थिए । क्रिमसन चिकित्सकहरुले भने एक्यिुट इन्सेफलाइटिस सिन्ड्रोम देखिएको र निमोनिया भएको भन्दै दुई दिन आईसीयूमा राखेर उपचार गरेका थिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७ बिहिबार ००:००  ४ : २४ बजे