बुटवल ।
गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर रहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले स्पष्ट पारेको छ ।
उनको आईसीयू कक्षमा भेन्टिलेटर कक्षमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको अस्पतालले एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
‘केही सामाजिक सञ्जाल तथा मिडियाहरुमा बिरामीको मृत्यु भएको भन्ने गलत भ्रामक, अतिरंजीत समाचार सम्प्रेषण भई सम्पूर्ण जनसमूदायमा अनावश्यक त्रासको वातावरण सृजना भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
अस्पतालले गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षीय पुरुष एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या लिएर अस्पतालमा आएपछि उपचार भइरहेको विज्ञप्तिमा जनाएको छ । सोही क्रममा कोरोनाको आशंकामा वैशाख २ गते प्रादेशिक जनस्वास्थ्य प्रशोगशालामा नमुना पठाइएकोमा उनमा जेठ ५ गते आएको रिपोर्टमा कोरोना पुष्टि भएको थियो ।
त्यसपश्चात उनको अवस्थाबारे निरन्तर भ्रामक समाचार आएको भन्दै अस्पतालले त्यस्ता समाचारको पछि नलाग्न अपिल गरेको छ ।
यसभन्दा अगाडी यस अनलाइनबाट प्रशारित समाचारमा स्रोतले बताए अनुसार मृत्यु भएको समाचार प्रकाशित गरिएकोमा त्यसो नभएको अस्पतालले आधिकारीक रुपमा पुष्टि गरेको छ । हामी उक्त समाचार प्रति क्षमा प्रार्थी छौं । -सम्पादन मण्डल
प्रतिक्रिया